त्रिविमा ट्रान्सक्रिप्ट र सर्टिफिकेट निर्माण ठप्प

त्रिविमा ट्रान्सक्रिप्ट र सर्टिफिकेट निर्माण ठप्प


विगत तीन दिनदेखि त्रिभुवन विश्वविद्यालयमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल शैक्षिक प्रमाणपत्रलगायत महत्वपूर्ण कागजात बनेका छैनन् । परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नभएर कामकारबाही प्रभावित हुँदा पनि सरोकारवाला निकाय भने अलमलमै रहेको बुझिएको छ ।

कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको उल्लेख गर्दै भने, ‘नियन्त्रक नहुँदा अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता काम कारबाही रोकिएको छ, अहिले ती कागजातका लागि आवेदन लिने काम मात्र भएको छ ।’ त्रिविले पहिले आवेदन दिएका विद्यार्थीका ट्रान्सक्रिप्ट मात्र उपलब्ध गराउँदै आएको अधिकारीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बताइएअनुसार आर्थिक कारोबार, उत्तरपुस्तिकाका परीक्षण गर्ने परीक्षकको पनि पारिश्रमिक उपलब्ध गराउनेलगायतका काम पनि हुन सकेको छैन । यसअघिका परीक्षा नियन्त्रक पुष्पराज जोशीको पदावधि यही भदौ ४ गतेदेखि सकिएपछि त्रिवि परीक्षा नियन्त्रकविहीन बन्न पुगेको हो । त्रिवि कार्यकारी परिषद्ले तीन महिनाका लागि विशेष अधिकार प्रयोग गरी नियुक्त गरिएका जोशीको कार्यकाल सकिएपछि अर्को नियुक्तिका लागि समयमै पहलकदमी नलिँदा यस्तो अवस्था आएको टियुसम्बद्ध एक उच्चाधिकारीले गुनासो गरे ।