लागूऔषध ओसारपसार नियन्त्रण गर्न सम्झौता गरिने

लागूऔषध ओसारपसार नियन्त्रण गर्न सम्झौता गरिने


प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा संलग्न रहेका उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कृष्णबहादुर महराले गृह मन्त्रालयसँग सम्बन्धित लागूऔषधको अवैध ओसारपसार र दुरूपयोग नियन्त्रणसम्बन्धमा नेपाल र भातबीच सम्झौता हुने जानकारी दिएका छन् । उक्त सम्झौताअन्तर्गत सचेतना अभिवृद्धि, समुदायमा आधारित शिक्षा कार्यक्रम र उपचार तथा पुनःस्थापना जस्ता क्षेत्रमा काम गरिने छ । लागूऔषधको दुरूपयोग नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने बारेमा सो सम्झौता गरिने उपप्रधानमन्त्री महराले जानकारी दिए ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले उद्योेगसम्बन्धी गुणस्तर निर्धारणका कार्यक्रममा पनि दुई देशबीचमा सम्झौता हुने बताए । दुवै देशका उत्पादनहरूलाई गुणस्तर चिह्न प्राप्त गर्ने र तिनको प्रयोगमा मान्यता दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिने छ ।

त्यसैगरी नेपालमा भूकम्प पीडितलाई भारत सरकारले दिने पुनर्निर्माणको सहयोगको प्याकेज तथा त्यसमा सम्पदा निर्माण, शिक्षा, प्राविधिक सहयोग, परामर्शदाता सहयोग, स्वास्थ्य लगायतका क्षेत्रको सहयोगमा पनि सहमति हुने बताइएको छ ।

सोही अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ सहयोग सम्झौताभन्दा पनि पुराना सहमति र सम्झौतालाई कार्यान्वयन तहमा ल्याउने विषयमा बढी जोड दिइने बताए ।