गृह मन्त्रालयमा गाडी माग्नेको ओइरो

गृह मन्त्रालयमा गाडी माग्नेको ओइरो


प्रधानमन्त्री शेरबहादुर देउवाका कारण यतिबेला गृहमन्त्रालय तनावमा छ । देउवाले गणतन्त्र स्थापनापछिकै जम्बो मन्त्रिपरिषद् बनाएपछि गृहका अधिकारीहरु मन्त्रीहरुलाई कसरी सवारी व्यवस्थापन गरिदिने भन्ने तनावमा रहेका हुन् ।

राज्यमन्त्री थपिएपछि राज्यमन्त्रीका लागि गाडीको माग गर्दै दैनिक गृह मन्त्रालयमा दर्जनौं फोन आउने गरेको छ । गृह मन्त्रालयअन्तर्गतको सवारी शाखाका एक अधिकारीले राज्यमन्त्रीका लागि गाडीको जोहो गर्न माग गर्दे कैयौं फोन आउने गरेको बताए । ‘राज्यमन्त्रीका लागि गाडी माग गर्दै अत्यधिक फोन आउने गरेको छ, व्यवस्थापनमा हामी हैरान छौं’, उनले भने । गृहले राज्यमन्त्रीलाई गाडी दिन नसक्ने बताए पनि गाडी माग गर्दै फोन आउने क्रम नरोकिएको उनको भनाई छ ।

यसअघि ०५२ सालमा देउवा नेतृत्वमा ५२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । २२ वर्षपछि देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा ५० सदस्य बनाएका छन् । अझै उनले चार वटा मन्त्रालय आफैंसँग राखेका छन् । ती मन्त्रालयमा मन्त्री ल्याएमा मन्त्रिपरिषद्को संख्या ५४ बन्नेछ जुन इतिहासकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् हुनेछ ।

यतिबेला मन्त्रीमण्डल विस्तारसँगै सिंहदरबारमा आउनेको संख्या भने ह्वात्तै बढ्न थालेको छ ।

संघीयताअनुसार अधिकार जिल्लामा गए पनि सर्वसाधारण तथा कार्यकर्ता विकास निर्माणदेखि आर्थिक सहायता माग्नसमेत सिंहदरबार आउने गरेका छन् ।