एमालेलाई रक्षात्मक बनाउँदै चुनावमा जाने रणनीतिमा सत्तापक्ष

एमालेलाई रक्षात्मक बनाउँदै चुनावमा जाने रणनीतिमा सत्तापक्ष


संविधान संशोधन प्रस्तावको विपक्षमा नेकपा एमाले रहेको ‘प्रमाणित’ गरेपछि सत्ता पक्षले अब हुने निर्वाचनको मैदानमा एमाले रक्षात्मक अवस्थामा पुग्ने विश्वास गरेको छ । देशका ६ वटा प्रदेशमा भएको स्थानीय निर्वाचन परिणामले एमालेलाई अग्रता दिलाएपछि चिन्तित हुन पुगेका सत्तारुढ दलहरू दुई नम्बर प्रदेशको निर्वाचन (असोज २ गते) अगाडि नै एमालेलाई रक्षात्मक अवस्थामा पुऱ्याउने उपायको खोजीमा थिए । यस क्रममा संविधान संशोधनलाई गतिलो अस्त्रका रूपमा प्रयोग गर्न सकिने विश्वास र विश्लेषण मूलतः तीन राजनीतिक पक्षबीच भएपछि संसद्मा संविधान संशोधनको प्रस्ताव मतदानका लागि प्रस्तुत भएको थियो ।

राजपाको मागअनुरूप संशोधन प्रस्ताव पारित नभए पनि त्यसले उक्त दलको ‘फेस सेभ’ हुने र निर्वाचनमा जान सहज हुने, नेपाली काङ्ग्रेस तथा माओवादी मधेसमैत्री भएको सन्देश जाने र नेकपा एमालेचाहिँ मधेसका जनताको भावनाविपरीत भएको भनी निर्वाचनमा एजेण्डा बनाएर प्रचारप्रसार गर्न पाइने ठहर भएपछि सत्तापक्षले राजपाको समेत सहमति लिएर संविधान संशोधन प्रस्ताव मतदानका लागि गत सोमबार (भदौ ५ गते) प्रस्तुत गरेको बुझिएको छ । यस घटनाबाट काङ्ग्रेस–माओवादी ‘मधेसको समस्या समाधान गर्न सकेको स्तरमै’ प्रसन्न हुन पुगेका छन् भने संविधान संशोधन नभई निर्वाचनमा नजाने अड्डी लिएर बस्ने राजपा पनि एमालेविरुद्ध ‘चुनावी मसला’ पाएकोमा दङ्ग देखिन्छ । अब दुई नम्बर प्रदेशको चुनावी मैदानमा एमाले टिक्न नसक्ने र सत्ता गठबन्धनले राम्रो परिणाम प्राप्त गर्ने विश्वास सम्बद्ध पक्षले गरेका छन् ।

यसअघि स्थानीय निर्वाचनको मिति घोषणा गर्नुभन्दा पहिले पनि काङ्ग्रेस–माओवादी नेता तथा ती दलसमर्थक बौद्धिक व्यक्तिहरूबीच के गर्दा चुनावमा एमालेलाई कमजोर तुल्याउन सकिन्छ भन्ने विषयमा व्याख्या, विश्लेषण र परामर्श हुने गर्दथ्यो । संसद्को भन्दा पहिले स्थानीय निर्वाचन गराउन सक्दा एमालेले अघि सारेका ‘राष्ट्रिय एजेण्डा’ले काम नगर्ने, स्थानीय तहमा मतदाताहरूबीच दलगत दरार पैदा हुने र स्थानीय एजेण्डाले एमालेको राष्ट्रिय एजेण्डालाई गौण बनाइदिने, परिणामस्वरूप त्यसको लाभ काङ्ग्रेस र माओवादीसहित सत्तारुढ पक्षलाई हुने निष्कर्षमा पुगेपछि सरकारले संसद्को भन्दा पहिले स्थानीय निर्वाचन गराउने घोषणा गरेको थियो । तर, ६ वटा प्रदेशमा सम्पन्न निर्वाचनको परिणामले सत्तापक्षको विश्वास र विश्लेषण सही भएको पुष्टि गरेन । काङ्ग्रेस–माओवादीबीच चुनावी गठबन्धनसमेत हुँदा पनि एमालेले अग्रता हासिल गर्‍यो । दुई नम्बर प्रदेशको निर्वाचन हुनुभन्दा ठीक एक महिनाअघि संविधान संशोधन प्रस्ताव मतदानमा लगेर एमाले मधेसको भावनाविपरीत रहेको देखाउन गरिएको प्रयासको परिणाम निर्वाचनमा कसरी आउने हो, यो प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।

सरकारले आगामी मङ्सिर १० गते प्रदेश सभा र संसद्को निर्वाचन एकसाथ गराउने घोषणा गरेको छ । सत्तारुढ दलका नेताहरूले दुई चरणमा निर्वाचन गराउनेबारेमा छलफल गरेका भए पनि अहिले त्यसबारे उनीहरू मौन रहेका छन् । हिमाली तथा पहाडी जिल्लामा मङ्सिर १० गते गर्ने र त्यसको दुई सातापछि मधेस–तराईमा निर्वाचन गराउने सोच सत्ता पक्षका नेताहरूले बनाएको बुझिन्छ । दलका शीर्षस्थ नेताहरूको आपसी छलफलका क्रममा मङ्सिर ४ गते पहिलो र मङ्सिर २१ गते दोस्रो चरणको निर्वाचन गराउनेबारेमा पनि छलफल भएको थियो । तर, सरकारले निर्वाचन मिति घोषणा गर्दा मङ्सिर १० गते भनेको छ । यदि आगामी असोज ३ गते २ नम्बर प्रदेशमा गर्ने भनिएको निर्वाचन परिणाम पनि सत्तापक्षको अपेक्षाबमोजिम भएन भने त्यस्तो अवस्थामा मङ्सिर १० गते निर्वाचन गराइएला या स्थगित गरिएला भन्ने आशङ्का उत्पन्न भएको छ । प्रमुख प्रतिपक्षी एमाले कमजोर र रक्षात्मक अवस्थामा पुगेको विश्वास सत्तारुढ पक्षले नगरेको अवस्थामा संसदीय र प्रादेशिक निर्वाचन गराइने सम्भावना कम भएको ठानिन्छ । त्यसैले दुई नम्बर प्रदेशको निर्वाचन परिणामले मङ्सिर १० गते गर्ने भनिएको निर्वाचनको भविष्य निर्धारण गर्ने विश्वास गरिएको छ ।

यसैबीच प्रमुख निर्वाचन आयुक्तले भने मङ्सिर ४ र २१ गते दुई चरणमा निर्वाचन गराइने बताएका छन् । अहिलेसम्म निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन नआएको, निर्वाचन कानुन बनिनसकेको र तयारी पनि पर्याप्त नभएकोले घोषित मितिमा निर्वाचन हुनेमा प्रमुख आयुक्त आफैँले शङ्का गरेका छन् ।