देउवाले माइक समाउन खोज्दा मोदीले रोकेपछि…

देउवाले माइक समाउन खोज्दा मोदीले रोकेपछि…


वीरेन्द्र केएम (नयाँदिल्ली)

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्बन्धित एक प्रसङ्ग आज निकै रोचक बनेको छ । प्रधानमन्त्रीले मिडियालाई सम्बोधन गर्नेबेला उहाँले माइकमै आएर केही कुरा त बोल्नुभयो तर के बोल्नुभयो उहाँकै छेउमा उभिनुभएकी आरजु म्याडमले समेत बुझ्नुभएन । प्रसङ्ग आज विहिबार दिल्लीस्थित राष्ट्रपति भवनको हो, जहाँ उहाँलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

भारतीय सेनाले नेपाल र भारतको राष्ट्रिय गान पालैपालो बजाएर प्रधानमन्त्री देउवालाई चौतर्फी परिक्रमा गराइसकेपछि उहाँ मिडियालाई सम्बोधन गर्न आउनुभयो । उहाँ अब बोल्नुहोला तब बोल्नुहोला भन्ने आशमा पछाडि रहेका भ्रमण दलका अन्य सदस्यहरु प्रतीक्षारत थिए । तर, उहाँको अवाज सुनिएन ।

छेउमै रहनुभएकी पत्नी आरजु देउवाले ‘कस्तो केही नसुनिएको माइक लिनु न’ भन्ने आशयको इसरा दिनुभयो, अनि प्रधानमन्त्रीले माइक समाउनु पनि खोज्नुभो, तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले ‘ठिक है छोडिए’ भन्ने शैलीको इसारा दिनुभयो । देउवाले समाउन खोजेको माइक छोडिदिनुभयो । उता पछाडि रहेका भ्रमणदलका अन्य सदस्यहरु प्रधानमन्त्रीको आवाज सुन्न कुरेकोकुरै भए । तबसम्ममा उहाँको भाषण सकिसकेको थियो ।

पत्रकारहरु उहाँले के बोल्नु भो ? न्युज के बनाउने ? भन्दै एकअर्काबीच कानेखुसी गर्दै थिए, यहाँसम्म कि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले समेत उहाँले बोलेको केही सुन्न र बुझ्न सक्नुभएन । ‘अलिक मधुरो स्वरले बोल्नुभो, खोइ के बोल्नु भो के बोल्नु भो ?’ परियारले भने- ‘मिलाएर लेखौं न !’

हेर्नुस् भिडियो :

देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रांगणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो ।

‘गार्ड अफ अनर’ ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले भारतले नेपालको विकासमा सहयोग गरेको बताउँदै थप सहयोगका लागि आग्रह गर्नुभयो । लगत्तै प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधी स्थल राजघाट प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवासँग राष्ट्रपति भवनमा भारतका विदेशमन्त्रीको भेटवार्ता

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवालाई विशेष पाहुनाको रुपमा राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि भेटवार्ता गर्नुभयो । राष्ट्रपति भवन पुगेर स्वराजले देउवालाई भेट गर्नुभएको हो ।

स्वराजसँगको भेटमा समसामयिक राजनीति, दुई देशको सम्बन्ध लगायतको विषयमा छलफल भएको बताइएको छ । स्वराजसँगको भेटवार्ताअघि नै प्रधानमन्त्री देउवालाई गार्ड अफ अनर प्रदान गरिएको थियो । गार्ड अफ अनर (विशेष राजकीय सम्मान) ग्रहणका लागि राष्ट्रपति भवनको प्रांगण पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो । स्वागतपछि मोदीले मिडियालाई सम्बोधन गर्न देउवालाई आग्रह गर्नुभएको थियो ।

मिडियासँग कुराकानी गर्दै देउवाले खुल्ला सीमाना रहेको नेपाल र भारत विश्वकै ऐतिहासिक सम्बन्ध रहेको मुलुक भएको बताउनुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहँदै आएको भन्दै यो भ्रमणले यो सम्बन्ध अझै प्रगाढ बन्ने दाबी पनि गर्नुभयो ।

तस्बिर : वीरेन्द्र केएम