अदालतमाथि खनिए कमल थापा

अदालतमाथि खनिए कमल थापा


अदालतका कारण आफ्नो पार्टी विभाजन भएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा आक्रोसित बन्न पुगेका छन् । पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) निर्वाचन आयोगमा दर्ता भएपछि राप्रपाका अध्यक्ष थापाले अदालतकै कारण आफ्नो पार्टी विभाजन भएको भन्दै सामाजिक संजालमा आक्रोस पोखेका हुन ।

उनले पछिल्लो समय एक पछि अर्को गर्दै सामाजिक संजालमा सर्वोच्चका कारण आफूहरूले न्याय नपाएको भन्दै आक्रोस पोखेका छन् ।

उनले लेखेका छन्,‘अन्यायपूर्वक प्रधानन्यायाधीश विरूद्ध महाअभियोग प्रस्ताव पेस हुँदा नैतिकताका आधारमा सत्ता परित्याग गर्ने राप्रपा आज अदालतकै कारण विभाजित भयो । न्याय पाइएन ।’

त्यस्तै उनले लेखेका छन्, ‘कानुनको धज्जि उडाउदै राज्यशक्ति दुरुपयोग गरि राप्रपा फुटाए । आयोग÷अदालत निरिह भयो तर, पार्टीको सिद्धान्त र निष्ठा कसैले फुटाउन सक्दैन, त्यो अटल छ ।’

यसअघि निर्वाचन आयोगले आवश्यक संख्या पुर्याएको भन्दै राणाको राप्रपा (प्रजातान्त्रिक) दर्ता गरेको छ । कमल थापा नेतृत्वको राप्रपा फुटाएर राणाले नयाँ पार्टी बनाएका थिए । तर चालिस प्रतिशत केन्द्रीय सदस्य र सांसद पुर्याउन नसक्दा दल दर्ता प्रक्रिया अन्यौलमा परेको थियो ।

भदौ ४ गते नयाँ पार्टी गठनका लागि आवश्यक सांसद र केन्द्रीय सदस्यको संख्या सनाखत गर्न नसकेपछि निर्वाचन आयोगले सनाखत गर्न नसकेको प्रमाणिकरण गरिदिएको थियो तर भदौ ५ गते सर्वोच्च अदालतले निर्वाचन आयोगलाई दल दर्ता गर्न निर्देशन दिएको थियो ।

गत साउन २२ गते थापा नेतृत्वको राप्रपा फुटाएर राणाले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगले दल दर्ताका लागि राणाको निवेदन पछि राणालाई चालिस प्रतिशत केन्द्रीय सदस्य र सांसदको नागरिकता र हस्ताक्षर सनाखत गर्न २९ साउनसम्मको समय दिएको थियो ।

तर उक्त समयमा राणाले हस्ताक्षर बुझाउन नसकेपछि थप समय मागेका थिए । आयोगले दोश्रो पटक भदौ ४ सम्मको समय राप्रपा प्रजातान्त्रिकलाई दिएको थियो ।