शिलान्यास गरेको वर्षदिनपछि पार्क निर्माणबारे छलफल सुरु

शिलान्यास गरेको वर्षदिनपछि पार्क निर्माणबारे छलफल सुरु


भूकम्पबाट ज्यान गुमाएकाहरूको स्मृतिमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रमा बनाउन लागिएको पार्कको शिलान्यास गरिएको वर्षदिनपछि बल्ल छलफल सुरु भएको छ । सांसद अग्नीप्रसाद सापकोटाले एक वर्षअघि शिलान्यास गरेको भूकम्प स्मृति पार्क कस्तो बनाउने भन्नेबारे राजधानीमा हालै छलफल सुरु भएको हो ।

२०७२ सालको महाविनाशकारी भूकम्पबाट ज्यान गुुमाएकाहरूको स्मृतिमा पार्क निर्माण गर्न शिलान्यास गरिएको थियो । राजधानीको शहरी विकास तथा भवन निर्माण विभाग बबरमहलमा स्मृति पार्कको डिजाइनबारे छलफल गरिएको हो । छलफलमा डिजाइनका परामर्शदाता कम्पनी ए–नट अर्किटेक्चर एण्ड अर्किटेक्ट्स तथा जे÷भी आर्किटेक्ट डिजाइन एसोसियट्सले स्थलगत अध्ययनपछि गरेको डिजाइन प्रस्तुत गरेको थियो ।

छलफलका क्रममा परामर्शदाता कम्पनीले बनाएको डिजाइन भौगोलिक हिसाबले उपयुक्त भएको निष्कर्ष निकालेको थियो । ‘डिजाइन प्रस्तुतपछि त्यसलाई कसरी अझ आकर्षक र उपयोगी बनाउन सहभागीहरूले सुझाव दिनुभएको छ,’ सांसद अग्नीप्रसादले भने, ‘स्मृति पार्कलाई केन्द्रीय स्तरको भूकमपसम्बन्धी अध्ययन अनुसन्धान गर्न सक्ने केन्द्रका रुपमा निर्माण गर्नेगरी सरोकारवाला निकायसँग छिट्टै छलफल गर्ने समझदारी बनेको छ ।’

चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा निर्माण गर्न लागिएको सो पार्कमा भूकम्पमा परि ज्यान गुमाएकाहरूको नाम अंकित हुनेछ । ८२ रोपनी क्षेत्रमा बन्ने स्मृति पार्क चौतारा नगरपालिकाको वडा नम्बर ५ पानी टंकी एरियामा निर्माण गर्न लागिएको हो । पार्कमा भूकम्पबाट मारिने सबै सिन्धुपाल्चोकवासीको नाम अंकित हुनेछ ।

शहरी विकास तथा भवन निर्माण विभाग सिन्धुपाल्चोकका प्रमुख डा. युवराज पौडेलले भूकम्पसम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्न सक्ने सोच राखेर पार्कको डिजाइन गर्न लगाइएको सांसद सापकोटाले जानकारी दिए ।

छलफलमा सांसदसँगै शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक तपेन्द्रबहादुर खड्का, शहरी विकास तथा भवन निर्माण विभागको उप महानिर्देशक पदमकुमार मैनाली, शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना इकाइकी आयोजना उप–निर्देशक मीरा ज्ञवालीलगायतको पार्कको डिजाइनबारे सुझाव तथा प्रतिक्रिया दिएका थिए ।

भूकम्पमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको जिल्लाका हिसाबले सिन्धुपाल्चोक जिल्लामा स्मृति पार्क निर्माण गर्न लागिएको हो । जिल्लामा भूकम्पबाट तीन हजार पाँच सय ७२ले ज्यान गुमाएका थिए । जिल्ला दैवी प्रकोप उद्धार समितिकाअनुसार भूकम्पले जिल्लाका ९५ प्रतिशत घर पूर्ण रुपमा ध्वस्त बनाएको थियो ।