एन्फा टेक्निकल सेन्टरको स्तरोन्नति गरिने

एन्फा टेक्निकल सेन्टरको स्तरोन्नति गरिने


राष्ट्रिय खेलकुद परिषदले ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको स्तरोन्नति गर्ने भएको छ । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले सोको शिलान्यास गरेका छन् ।

अन्य सुविधासहित हाल पूर्व र दक्षिण दिशामा गरी १ हजार २ सय दर्शक क्षमताको प्यारपिटलाई १० हजार दर्शक क्षमताको बनाइन लागेको हो । पूर्व र दक्षिणमा पनि थप दर्शक बस्न मिल्ने गरी थप पूर्वाधार निर्माण गरिने छ भने पश्चिमपट्टि नयाँ पूर्वाधार थपिने छ । अहिले खाली रहेको उत्तर दिशा भने खाली नै रहने छ ।

स्तरोन्नतिका लागि ३३ करोड ५० लाख रुपैयाँ खर्च हुने राखेप सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए । २०१९ को फेब्रुअरी अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी डाँफे कन्स्ट्रक्सन कम्पनी, प्रेरा निर्माण सेवा र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि.ले निर्माणको जिम्मेवारी पाएका छन् ।

शिलान्यासपछि मन्त्री केसीले सेन्टरको स्तरबृद्धि सबैका लागि खुशीको कुरा भएको बताउँदै अझ त्यसले विशेष गरी फुटबलकर्मी र खेलाडी बढि खुशी दिने धारणा व्यक्त गरे । उनले १३ औं साग आयोजनाको प्रतिष्ठालाई जोगाउन सेन्टरको निर्माण कार्य समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै गुणस्तरमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । सदस्य–सचिव विष्टले १३ औं सागलाई लक्षित गरी सेन्टरको स्तरोन्नति गर्न लागिएको जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्रमान श्रेष्ठले फुटबलका लागि ऐतिहासिक दिन भएको बताउँदै सेन्टरको स्तरबृद्धिले फुटबलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई विशेष पहल गर्न आग्रह गरे । श्रेष्ठले सेन्टरमा एस्ट्रो टर्फ र फ्लडलाइट राख्नका लागि फिफाबाट स्वीकृति प्राप्त भइसकेको जानकारी गराउँदै त्यसका लागि अगष्ट ३१ मा नेपाल आउने फिफाका प्रतिनिधिसंग विस्तृत छलफल हुने बताए ।