राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागी हुने भनी हालै गरेको निर्णयप्रति सो पार्टीका महासचिव मनिषकुमार सुमनले गम्भीर असहमति जनाएका छन् । राजपाको गत ६ र ७ गते काठमाडौंमा सम्पन्न केन्द्रिय पदाधिकारी बैठकले गरेको निर्णयमाथि असहमति जनाउँदै नेता सुमनले फरक मत राखेका हुन् ।
पार्टीले गरेका निर्णय कार्यकर्ताको हैसियतले मान्नुपर्ने बाध्यता रहँदारहँदै पनि मन नपरेका निर्णयमाथि फरक मत राख्ने लोकतान्त्रिक विधि रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीमा दर्ता गराएको ‘फरक मत’मार्फत् भनेका छन्– ‘गत ५ गते व्यवस्थापिका संसदमा भएको मतदानमा संविधान संशोधन प्रस्ताव फेल भएकोप्रति राजपाले नैतिक रूपमा पराजय स्वीकार गर्नुपर्छ ।’ पार्टी मतदान प्रक्रियामा सहभागी भएको कारण नैतिक जिम्मेवारी लिनुपर्ने उनको तर्क छ ।
सरकारले राजपासँग गरेको तीनबुँदे सम्झौता अहिलेसम्म कार्यान्वयन नगरेको स्मरण गराउँदै सुमनले २०७२ सालमा जारी संविधान पूर्ण कार्यान्वयन भएको सन्देश प्रवाहित हुने गरी आगामी निर्वाचनमा राजपा सहभागी हुनु आत्मघाती कदम हुने दाबी गरेका छन् ।
फरक मतमा उनले उल्लेख गरेअनुसार सरकारले अहिलेसम्म शहादतप्राप्त आन्दोलनकारीलाई शहिद घोषणा नगरेको, झुठा मुद्दा फिर्ता नलिएको, गम्भीर घाइतेको उपचार र उनीहरूलाई क्षतिपूर्ति नदिएको परिवेशमा असोज २ मा हुने निर्वाचनमा राजपा नेपाल सहभागी हुनु आत्मघाती कदम ठहरिने छ ।

प्रतिक्रिया