एम्बुस थापेर हात्ती मार्न थाले तस्कर

एम्बुस थापेर हात्ती मार्न थाले तस्कर


तस्करहरुले जंगलका गैंडा मार्ने गरेका समाचार हाम्रो सन्दर्भमा नौलो लाग्दैन, तर जब जंगली हात्तीसमेत यस्ता तस्करको जालमा पर्ने र मर्ने घटना घट्न थाल्छ, यो दुःखद र संवेदनशील सन्दर्भ बन्न पुग्छ ।

यस्तै घटना घटेको छ कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा । गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् ।

जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नालाई उद्धृत गर्दै राससले जनाएअनुसार सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी भएको छ । प्रारम्भिक जानकारीअनुसार तस्करले बँदेल मार्न विद्युतीय एम्बुस थापेको जस्तो देखिन्छ तर सो एम्बुसमा भाले हात्ती परेको मरेको आज बिहान थाहा भयो ।

हात्ती मारेको खबरपछि भीमदत्तनगरबाट जिल्ला वन कार्यालयको टोली पुनर्वास पुगेर अनुसन्धान गरिरहेको छ । अहिले चिकित्सकको टोलीले हात्तीको परीक्षण गरिरहेको र यसको विशेष अनुसन्धानका साथ वन्यजन्तु तस्कर समूहको पनि खोजीकार्य भइरहेको बुझिएको छ ।