यसकारण गर्छन् दक्षिण कोरियामा नेपालीले आत्महत्या

यसकारण गर्छन् दक्षिण कोरियामा नेपालीले आत्महत्या


विदेशको जीवन र काम स्वदेशको भन्दा बिल्कुल फरक हुने तथ्यलाई आत्मसात नगर्दा रोजगारीमा गएकाले आत्महत्याको बाटो अँगाल्ने गरेका कोरियाको मानव संशाधन विभागका निर्देशक किम कि उक्ज्युले बताएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै किमले कोरियामा नेपालीको आत्महत्या दर बढ्दो रहेको स्वीकार गर्दै कोरिया प्रस्थानपूर्व स्वास्थ्य परीक्षण गरिएता पनि मनोवैज्ञानिक परीक्षण नगरिँदा समस्या आएको तर्क गरे ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा आयोजित सो गोष्ठीमा सहभागी वक्ताहरुले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण लगातार बढिरहेको तर त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना पनि बढ्दै गएकोमा चिन्ता प्रकट गरे ।

गोष्ठीलाई सम्बोधन गर्दै श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले कोरियामा नेपालीको आत्महत्याका घटना बढ्नु संवेदनशील भएको भन्दै यसलाई घटाउन नेपाल सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए भने वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका नेपाल निर्देशक बाबुराम खतिवडाले सन २००८ देखि २०१७ अगस्टसम्म १३८ नेपालीको कोरियामा मृत्यु भएको जानकारी दिए ।

कोरियामा मृत्युहुने मध्ये इपिएस भाषा परीक्षामार्फत गएका ७७ जना रहेको त्यसमध्ये ठूलो संख्या आत्महत्या गर्नेहरुकै रहेको उल्लेख गर्दै उनले सन् २०१७ मा मात्रै १६ को मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी आत्महत्या गर्ने रहेको खुलासा गरे ।

कोरियामा नेपाल सरकारका तर्फबाट श्रमसहचारीका रुपमा काम गरेर एक वर्षअघि फर्निर्किएका अनिल गुरुङले आफ्नो चार वर्षे कार्यकालमा १३० जनाको मृत्यु भएको र तीमध्ये ३६ जनाले आत्महत्या गरेको विवरण दिए । अत्यधिक वितृष्णा, घरपरिवारको व्यवहार, उच्च महत्वाकांक्षा, सहकर्मी एवं मालिकको व्यवहार, मानसिक तनाव जस्ता कारण आत्महत्या गर्नेको संख्या बढेको उनको भनाई थियो ।