बहुआयमिक संरक्षण गृह निर्माण गरिने

बहुआयमिक संरक्षण गृह निर्माण गरिने


महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिका, बाल सुधार गृहलाई ध्यानमा राख्दै बहुआयामिक संरक्षण गृह निर्माणको अवधारणा राखेर अघि बढ्ने बताउनुभएको छ ।

जिल्ला बालकल्याण समितिद्वारा शुक्रबार दमौलीमा आयोजित स्वागत कार्यक्रममा मन्त्री कोइरालाले सात प्रदेशमा छुट्टाछुट्टै किसिमको संरक्षण गृह निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा सडक बालबालिकाको व्यवस्थापन गरिसकिएको बताउँदै मन्त्री कोइरालाले भन्नुभयो, “अन्य जिल्लामा पनि यस्ता बालबालिकालाई व्यवस्थापन गर्न अभियानका रुपमा लैजान लागिएको छ ।”

सरकारको मापदण्ड विपरीत बालबालिका क्षेत्रमा सञ्चालित संघसंस्था खारेज गरी मापदण्डअनुरुप सञ्चालित सङ्घसंस्थालाई सशक्त रुपमा अघि बढाएर लैजाने योजना रहेको पनि उहाँले बताउनुभयो । समाजका विकृति र विसंगतिलाई न्यूनीकरण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार टोलीसमेत गठन गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

सो अवसरमा बालकल्याण समितिले पुस्तकालय दिवसका अवसरमा आयोजना गरेको ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालयको महत्व’ विषयको वक्तृत्वकलाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रासस