अध्यागमनसँग सेटिङ मिलाएर मानवतस्करी

अध्यागमनसँग सेटिङ मिलाएर मानवतस्करी


देशमा बढ्दो बेरोजगारको फाईदा उठाउदै विभिन्न म्यानपावर कम्पनीले गैरकानुनी तबरबाट घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्र पठाउने गरेको खुलासा भएको छ । म्यानपावर कम्पनी र अध्यागमन विभागका कर्मचारीको ‘सेटिङ’मै महिलालाई अबैध रुपमा पठाउने गरेको पाईएको छ ।

खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन पछि सो कुरा खुलेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरेको भएपनि अहिले सम्म सो बारे कुनै सुनुवाई भएको छैन । सभापति साहाले भने,‘अवधै रुपमा जानेहरु आधाभन्दा बढीले नेपालकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगगरी गरेको र बाँकीले मात्र भारत र श्रीलंकाको विमानस्थलबाट गएको भेटियो ।’

मानवतस्करले अध्यागमनबाट विना रोकतोक पर्यटक प्रवेशाज्ञामा दुबई, कुबेत पठाउने र त्यहाँबाट साउदीअरब, कतार, ओमन पठाउने गरेको समेत सभापति साहले बताए । साउदीमा मात्रै ३० हजारभन्दा बढी महिला अवैध रुपमा घरेलु कामदारका रुपमा गएको र अन्य मुलुकमा समेत त्यो संख्या धेरै रहेको उनको दाबी रहेको छ । चार मुलुकमा हजारभन्दा बढी कामदारहरुलाई म्यानपावर कम्पनीले आफुखुशी शुल्क लिई पठाएइको पाईएको छ ।

निःशुल्क टिकट र प्रवेशाज्ञा कागजमा मात्रै सीमित राखेर प्रतिव्यक्ति ५ लाख रुपैयाँभन्दाबढी रकम लिई विदेश पठाएको भेटिएको सभापति साहको ठहर रहेको छ । म्यानपावर कम्पनीले अस्थिर सरकार र बढ्दो बेरोजगारीको मौका उठाउदै मंहगोमा युवायुवतीलाई विदेश पठाएपछि मोटो रकमको थैली लिई बैदेशिक रोजगार विभाग र अध्यागमन कार्यालय पुग्ने समेत गरेका छन् । ती कम्पनीहरुले अध्यागमन र विभागका कर्मचारीलाई प्रति व्यक्ती १ लाख रुपैयाँभन्दाबढी रकम कमिशनका रुपमा उपलव्ध गराउने समेत स्रोतको दाबी रहेको छ ।