कोइकाको सहयोगमा रोजगारी खोज्ने वेबसाइट

कोइकाको सहयोगमा रोजगारी खोज्ने वेबसाइट


के तपाईं बेरोजगार हुनुहुन्छ, त्यस्तो हो भने तपाईंले आफ्ना लागि उपयुक्त रोजगारको अवसर www.jobkhoj.gov.np मा गएर खोज्न सक्नुहुन्छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा हिजो शुक्रबारदेखि सो वेबसाइट सञ्चालनमा ल्याएको हो ।

निजी क्षेत्रबाट रोजगारीसम्बन्धी विभिन्न वेबसाइट सञ्चालनमा रहे पनि सरकारीस्तरबाट निजी क्षेत्रको रोजगारीलाई केन्द्रमा राख्दै खोलिएको यो पहिलो वेबसाइट हो । श्रम मन्त्रालयअन्तर्गत देशका १४ ठाउँमा रहेका रोजगार सूचना केन्द्रले समेत यसका लागि सहजकर्ताको भूमिका खेल्ने राससले जनाएको छ ।

बताइएअनुसार वेबसाइटमा बिभिन्न पदहरुमा कामका लागि मागसहितको विवरण राखिएको हुन्छ, त्यो हेरेर आफूलाई उपयुक्त पदमा आवेदन दिन सकिनेछ । रोजगारको खोजीमा रहेकाहरुले आफूले चाहेको काम, सिकेको सीप, शैक्षिक योग्यतालगायतका विवरणसहितको व्यक्तिगत विवरण पठाउन सक्नेछन् । त्यस्तै रोजगारदाताले आफूले चाहेको कामदार, पदलगायतका विवरण पठाउन सक्नेछ ।

श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले वेबसाइटको शुभारम्भ गर्दै यसले रोजगारदाता र रोजगारी खोज्नेहरुका लागि समन्वयको काम गर्ने विश्वास व्यक्त गरे । उनले विविध क्षेत्रमा नेपालभित्रै रोजगारीको अवसर रहे पनि विदेशिनै पर्छ भन्ने मानसिकताले समस्या ल्याएको टिप्पणी गरे । सरकारले सातै प्रदेशमा सीपमूलक तालीम दिने तयारी सुरु गरिसकेकोले यसले रोजगारीको अवसर सिर्जना गर्ने उनको भनाई छ ।

वेवसाइट आरम्भका अवसरमा बोल्दै आईएलओ नेपालका देशीय निर्देशक रिचार्ड हवार्डले वेबसाइटले रोजगारीको अवसर र सूचना देशभर पु¥याउने तथा निजी क्षेत्र र कामदारका लागि पुलको काम गर्ने आशा व्यक्त गरे ।