एक व्यक्ति अटेरी बन्दा सडक नै भासियो

एक व्यक्ति अटेरी बन्दा सडक नै भासियो


खोला थुनेर जग्गा सम्याउने व्यक्तिको स्वार्थका कारण सर्वाधिक सवारी आवागमन हुने अरनिको राजमार्ग खण्ड भासिएको छ । यसले पूर्वबाट काठमाडौं आउने सवारी आवागमन प्रभावित तुल्याएको छ । खोला थुनेर जग्गा सम्याउने व्यक्तिको स्वार्थका कारण दैनिक हजारौँ सवारी साधन गुड्ने एक मात्र पूर्वी नाकाका रुपमा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलाँसेमा सडक भासिएको हो ।

स्थानीयले जानकारी दिएअनुसार पलाँसेकै प्रकाश जोशी नामक व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी नियमित रुपमा बग्दै आएको खोला थुनेर आफ्नो जग्गा सम्याउँदा सडक भत्किएको हो । जोशीले ब्यापारिक प्रयोजनका लागि खोला थुनेर जग्गा सम्याउने प्रयास गरेका थिए ।

सूर्यविनायक नगरपालिका¬–९ का वडाध्यक्ष उपेन्द्र केसीकाअनुसार खोलाको बहाव नै बन्द गरेर निकासका लागि सानो ह्युमपाइप राखी जग्गा सम्याउँदा यस्तो घटना निम्तिएको हो । जोशीको कार्यमा स्थानीयको विरोध आएपछि आफूले वडा कार्यालयमै बोलाएर नियमविपरीत काम नगर्न र तत्काल खोला थुनेर जग्गा सम्याउने कार्य रोक्न निर्देशन दिँदा अटेर गरिएको उनले गुनासो गरे ।

महानगरीय प्रहरी वृत्त जगातीले जोशीलाई नियन्त्रणमा लिई कारवाहीको अवश्यक प्रक्रिया अघि बढाएको बुझिएको छ ।