पर्यटक-भेषमा आईएस नेपाल भित्रिने मन्त्रीको शंका

पर्यटक-भेषमा आईएस नेपाल भित्रिने मन्त्रीको शंका


गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पर्यटकका भेषमा नेपालमा आईएस भित्रिरहेको हुन सक्ने आशंका गरेका छन् । उनले नेपालमा पर्यटक भित्र्याउने संयन्त्र नहुँदा आपराधिक मनोवृत्तिका विदेशी पर्यटकका रुपमा भित्रिरहेको हुनसक्ने आशंका व्यक्त गरेका हुन ।

प्रेस सेन्टर रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले भने, ‘विदेशी पर्यटकका रुपमा कस्ता मान्छेहरु नेपाल आउँछन भन्ने हेर्ने मेकानिजम हामीसँग छैन, यसको उपयोग गर्दै आईएसका लडाकुहरु नेपालमा भित्रिएका हुनसक्छन्, उनीको आतंकवादी गतिविधि सञ्चालन गर्ने थलो नेपाल बन्न सक्छ ।’

नेपालमा अध्यागनमनको पाटो अति कमजोर रहेको बताउँदै श्रेष्ठले नेपाल आतंकारीहरुको खेल खेल्ने थलो हुन सक्ने बताए । यही समस्याको समाधानको लागि अध्यागमनसम्बन्धी विधेयक आवश्यक रहेको उनले बताए । देशलाई आतंकारकीहरुको खेल खेल्ने थलो हुनबाट जोगाउन अध्यागमन विधेयकको मस्यौदा निर्माणको लागि गृह मन्त्रालयले निर्देशन दिइसकेको उनले बताए ।