बाढी पहिरोले पाँच वर्षमा एक हजार बढीको ज्यान लियो

बाढी पहिरोले पाँच वर्षमा एक हजार बढीको ज्यान लियो


बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन् ।

आर्थिक वर्ष २०६९/७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ । बाढीका कारण बेपत्ता हुनेको सङ्ख्या भने पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । बाढीका कारण ३४१ जना र पहिरोका कारण १९३ जना बेपत्ता भएका छन् ।

बाढीका कारण सबैभन्दा बढी मृत्यु हुने जिल्लामा बर्दिया ४५, सुर्खेत ३४, दाङ ३१, मोरङ २३, बाँके २४, सिन्धुली २०, रौतहट १८, सुनसरी १५, सर्लाही र नवलपरासी १३/१३, उदयपुर र सप्तरी १२/१२, मकवानपुर र कालीकोट ११/११, झापा १० र काठमाडौँ नौजना छन् ।

यस्तै बाढीका कारण सुर्खेतमा ९७, बर्दियामा २५, कालीकोटमा १७, मोरङमा र सुनसरीमा १२÷१२, झापा र बाँकेमा १०/१०, सिन्धुलीमा नौ र कैलालीमा आठजना बेपत्ता भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

२०७१ साल साउन अन्तिम साता आएको ठूलो बाढीका कारण सुर्खेत, बर्दिया र दाङमा ठूलो मानवीय क्षति भएको थियो । बाढीका कारण सो अवधिमा ९४ घाइते, ५९ हजार ९४ परिवारको आंशिक घर क्षति, ३८ हजार ३६ र नौ हजार ८३८ घर पूर्ण रुपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा बाढीका कारण रु १५ अर्ब दुई करोड ७५ लाख ३६ हजार ७३९ अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ ।

यस्तै यो पाँच वर्षको अवधिमा पहिरोको कारण ५५७ को मृत्यु, १९३ बेपत्ता र ४४० जना घाइते भएका छन् । दुई हजार ८३९ परिवार प्रभावित हुँदा ७१६ घर आंशिक क्षति र ९०६ घर पूर्ण क्षति भएका छन् । पहिरोबाट सो अवधिमा रु एक अर्ब चार करोड ६२ लाख २४ हजार ५३७ अनुमानित क्षति भएको गृह मन्त्रालयको तथ्याङ्क छ ।

यस्तै पहिरोको कारण बढी मृत्यु हुने जिल्लामा ताप्लेजुङमा ५३, सिन्धुपाल्चोक ५०, कास्की ४४, गुल्मी २५, बाग्लुङ २३, सङ्खुवासभा १८, पाल्पा १७, गोरखा १३, दोलखा र इलाम १४/१४ र नुवाकोटमा १२ जनाको मृत्यु भएको थियो । पहिरोका कारण यो अवधिमा सिन्धुपाल्चोकमा मात्रै १२३, दोलखामा ११ र सङ्खुवासभामा ६ जना बेपत्ता भएका छन् । २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोको कारण ठूलो मानवीय क्षति भएको थियो ।

पछिल्लो पटक यो वर्ष आएको बाढीपहिरोको क्षतिबाहेक यो पाँच वर्षको अवधिमा बाढी पहिरोका कारण ६१ हजार ९३३ परिवार प्रभावित भएको र जसमध्ये ३९ हजार ९३ घर आंशिक क्षति तथा १० हजार ७४४ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोको कारण सो अवधिमा रु १६ अर्ब सात करोड ३७ लाख अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा रहेको राससले जनाएको छ ।

बाढीका कारण भौतिक संरचनामा बढी क्षति भए पनि पहिरोको कारण मानवीय क्षति बढी हुने गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाएको छ ।