बाढीपीडितलाई नेवि संघ म्याग्दीको सहयोग

बाढीपीडितलाई नेवि संघ म्याग्दीको सहयोग


रौतहटका बाढीपिडीत १५० घर-परिवारलाई नेपाल विद्यार्थी संघ म्याग्दीले ६ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ ।

तराईमा हालै आएको बाढीबाट पीडित रौतहट जिल्ला परुहा नगरपालिका वडा नं ९ जिंगडिया गाउँका १५० घरपरिवारलाई ५ लाख ७५ हजार २ सय बराबरको खाद्यान्न, लत्ता कपडा, दाल, चामल, नुन, तेल त्रिपाल, ओड्ने-ओछ्याउनेलगायतका सामग्री वितरण गरेको हो ।

राहत वितरण कार्यमा सक्रिय नेविसंघ म्याग्दीका पूर्वअध्यक्ष भरत रकालका अनुसार बाढीप्रभावित गाउँका १५० घरपरिवारलाई, एक महिनासम्म पुग्ने खाद्यान्न र लत्ता कपडाहरु वितरण गरिएको छ । यस्तै, गगन थापाद्धारा सिराहा र लाहानमा संचालित ‘माया भरिएको बाल्टिन’ नामक राहत वितरण कार्यक्रममा पनि नेविसंघ म्याग्दी समावेश भएको उनले जानकारी दिए ।

यसैगरी हालै आएको बाढीमा परी मृत्यु भएका सप्तरीका कमलु सदाको परिवारलाई श्रम मन्त्रालयको सहयोगमा नेपाल निजामती कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ । सप्तरीका तिलाठी कोइलाडी–५ घर भएका सदाको परिवारलाई सो संगठनले रु १६ हजार ५०० र सोही संगठनका कर्मचारीहरुको पदाधिकारीहरुले पनि रु दुई हजार ५०० गरी जम्मा रु १९ हजार आर्थिक सहयोग गरेको कर्मचारी संगठनले जनाएको छ ।

मृतकका परिवारलाई संगठनका उपाध्यक्ष भवानी दाहाल, भागवत यादव र जिल्ला अध्यक्ष रामनारायण महतोसहित जिल्ला समितिका पदाधिकारीले सो आर्थिक सहयोग गरेका हुन् । यस्तै युवा संघ नेपालले समेत सदाको परिवारलाई ११ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।