कानुनको धज्जी उडाए वडाध्यक्षले

कानुनको धज्जी उडाए वडाध्यक्षले


स्थानीय तहको निर्वाचनमा एमालेको तर्फवाट बनेपा–६ मा वडा अध्यक्ष जितेका सचितानन्द केसीले आफू काभ्रेपलान्चोक खेलकुद विकास समितिको अध्यक्षसमेत भएको दाबी गरेपछि खेलकुदमा खैलाबैला मच्चिएको छ । केसीले वडा अध्यक्षमा निर्वाचित भएपछि पनि कानुनविपरीत खेलकुद विकास समितको अध्यक्षको रुपमा कार्य गर्दै आएका छन् ।

सर्वप्रथम स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट केसीले राजीनामा दिनुपथ्र्यो । तर राजीनामा नै नदिई उनी वडा अध्यक्षको उम्मेदवार बने । त्यतिले नपुगी केसीले समितिमा हस्तक्षेपसमेत गरे । खेलकुद विकास समितिबाट राजीनामा नै नदिई केसी कसरी वडा अध्यक्ष बने र त्यस विषयमाथि सरोकारवालाले किन छानबिन गरेन, यो अहिले खेलकुदमा चासोको विषय बनेको छ । कानुनी रुपमा उनी अब कताका अध्यक्ष पदका हकदार हुन्छन् ? कि दुबै पदबाट हात धुनुपर्ने हो ? त्यसको छिनोफानो हुनुपर्ने आवाज खेलकुदमा उठेको छ ।

सच्चितानन्द केसीले स्थानीय तहको निर्वाचनमा बनेपा वडा नम्बर ६ को अध्यक्ष पदमा विजयी भएपछि राष्ट्रिय खेलकुद परिषदले उक्त रिक्त समितिको अध्यक्षमा भक्तकुमारी लामालाई नियुक्त गरेको स्रोतले जनाएको छ । स्मरण रहोस्, लामा स्थानीय निर्वाचनमा एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएर पराजित भएकी थिइन् ।

राखेप सदस्य सचिव विष्टले लामालाई काभ्रे जिल्ला खेलकुद समितिको अध्यक्षमा नियुक्ति गरे पनि लामाको नियुक्ति कागतमै सीमित बन्न पुगेको छ । लामाले अहिलेसम्म आफ्नो नियुक्ति पत्र समितिमा दर्ता गराउन सकेकी छैनन् । लामा बाहिर–बाहिर आफुलाई जिल्लाको खेलकुद अध्यक्ष भएको दाबी गर्दै हिँडे पनि केसीले कुर्सी नछोडेपछि रनभुल्ल परेकी छिन् ।