राजपाले कोल्टे फेरेपछि बढ्यो पर्सामा चुनावी चहलपहल

राजपाले कोल्टे फेरेपछि बढ्यो पर्सामा चुनावी चहलपहल


स्थानीय तहको प्रदेश नम्बर २ मा हुन गइरहेको निर्वाचनको यतिबेला विशेष चर्चा छ । खासगरी राष्ट्रिय जनता पार्टी समेत चुनावमा जान तयार भएपछि दुई नम्बर प्रदेश चुनावको चासो र चर्चा बढेको हो ।

नेपालको संविधानमा रहेका कतिपय अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलनरत राजपा चुनावमा जाने भएपछि यस प्रदेशमा स्थानीयतहको चुनाव हुन्छ कि हुँदैन भन्ने दोधारमा रहेका मतदाता तथा विभिन्न दलका स्थानीय नेताले आ—आफ्ना चुनावी अभियानलाई तीव्रता दिँदै मतदाताको घरदैलोसम्म पुग्न थालेका छन् । वीरेन्द्र कर्ण (रासस) लेख्छन्, संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी, बाढी र डुबानको चपेटा खेपिरहेका पर्सा जिल्लाका मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित दलका प्रतिनिधि अहिले नगरदेखि गाउँसम्म मतदातालाई रिझाउन पुग्ने गरेका छन् । उक्त प्रदेशकोे आर्थिक नगरी वीरगञ्जमा पनि प्रमुख राजनीतिक दलले उम्मेवारको नाम सार्वजनिक गर्न थालेका छन् ।

सत्ता साझेदारी दल नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकाको प्रमुख पदको उम्मेदवारको नाउँ हालसम्म सार्वजनिक नगरे पनि सो पार्टीका अजय द्विवेदीको नाम चर्चामा छ । सो दलले अहिलेसम्म महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा उम्मेदवारको नाम सार्वजनिक नगरे पनि अन्य दलले भने उम्मेदवारको नाम भने सार्वजनिक गर्दै आएका छन् ।

चुनावी मैदानमा आएको राजपाले पनि अहिलेसम्म सो महानगरपालिकामा उम्मेदवारको नाम तोक्न सकेको छैन । पहिलो र दोस्रोचरणको चुनावमा भाग नलिएको सो दलले तेस्रो चरणको स्थानीय तहको चुनावमा भाग लिने भएपछि वीरगञ्ज महानगरपालिकाको प्रमुख पदको उम्मेदवारीका लागि विमल श्रीवास्तव र राजेशमान सिंह समर्थकबीच विवाद हुँदा पार्टीले कसलाई प्रमुखको उम्मेदवार बनाउने भन्नेबारेमा अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

अहिलेसम्म घोषित वीरगञ्ज महानगरपालिकाका प्रमुख पदका उम्मेदवारमा नेकपा (एमाले)का बसुरुद्दिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्य तथा प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रहवर अन्सारी र संघीय समाजवादी फोरम नेपालका विजय सरावर्गी मतदाता सामु पुगिसकेका छन् ।
ती उम्मेदवारले विकासलाई प्रमुख प्राथमिकतामा राखेर चुनाव प्रचारप्रसारलाई अगाडि बढाएका छन् ।

यसैबीच प्रदेश नम्बर–२ अन्तर्गत पर्सा जिल्लामा तीन हजार ७४७ महिला र पाँच हजार ७४६ पुरुषसहित ९ हजार ४९३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पर्सामा साउन १ गतेदेखि भदौ १ गतेसम्म पहिलो चरणअन्तर्गत जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा भएको नामावली संकलन कार्यमा तीन हजार ६८१ जनाले मतदाताको लागि निवेदन दिएका थिए भने साउन १६ गतेदेखि भदौ १ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र गाउँपालिकामा खटिएको टोलीमा मतदाता नामावली संकलन कार्यमा चार हजार ८३० जनाले आवेदन दिएको कार्यालयले जनाएको छ ।

यसैगरी मतदाता नामावलीमा त्रुटी सच्याउन १६ जना र ठेगान सार्न ५२ जनाले आवेदन दिएका थिए । नयाँ मतदाताले भने आउँदो असोज २ गते हुने स्थानीय तहको तेस्रोचरणको निर्वाचनमा भाग लिन नपाउने भए पनि अब हुने प्रदेश र संसदीय निर्वाचनमा भने मतदान गर्न र उम्मेदवारी दिन पाउने निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।

पर्सामा वीरगन्ज महानगरपालिका, पोखरीया, महुदरमाई गरी ती नगरपालिका तथा १० वटा गाउँपालिका छ । जिल्लामा दुई लाख ८० हजार १११ मतदाताका लागि १६३ मतदानस्थलका साथै ३४२ मतदान केन्द्र तोकिएको छ ।

असोज २ गते हुने प्रदेश नम्बर–२ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न राजनीतिक दलले आ–आफ्नो पार्टीको गतिविधिलाई तीव्रता दिएका छन् । सो निर्वाचनका लागि पर्सा जिल्ला अदालतका मुख्य न्यायधीश विष्णु सुवेदीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।