यस्ता छन् कास्की प्रहरीका कार्ययोजना

यस्ता छन् कास्की प्रहरीका कार्ययोजना


कास्की जिल्ला प्रहरी प्रमुखको रुपमा हालै जिम्मेवारी लिएका एस्पी अशोक सिंहले जिप्रकाबाट अघिसारिएका अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रण, चोरी, तस्करी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रण, प्रविधिमैत्री प्रहरी सेवा, सुरक्षित एवं अपराधमुक्त जिल्लाको निर्माण जस्ता विभिन्न १५ वटा कार्ययोजना सार्वजनिक गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्ना उल्लिखित कार्ययोजना सार्वजनिक गर्दै एस्पी सिंहले दुई हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको समेत जानकारी दिए ।

बताइएअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएका हुन् ।

पक्राउ परेकाको साथबाट २० लाख ४२ हजार ८१० बरामद गर्नुको साथै उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । यस्तै, पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेबाट शनिबार फेनरागन ७० थान, डाइजापाम ७० थान र बुफ्रिन ७० थान लागुऔषधसहित सोही स्थानका कृष्णबहादुर विक, दिलीप तामाङ र सुनिल विकलाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको पनि बताइएको छ ।