दशैंमा अग्रिम टिकट खुलाउने विषयमा विवाद

दशैंमा अग्रिम टिकट खुलाउने विषयमा विवाद


दशैंको अग्रिम बुकिङ खुलाउने विषयमा सरकार र यातायात व्यवसायी बीच विवाद सुरु भएको छ ।

आइतबार यातायात व्यवसायी र सरकारबिच अग्रिम बुर्किङ खुलाउने विषयमा छलफल भयो तर सहमती हुन सकेन् ।

यातायात व्यवसायीहरुले ०६९ सालमा सरकारले तोकेको भाडादर वैज्ञानिक र परिमार्जित नभएको बताए । सरकारले ०७२ सालको भूकम्पयता डिजेलको मूल्य बढेको आधारमा लामो रुटको सवारीको भाडादर बढाए पनि हालको अवस्थामा उक्त भाडादर धेरै पुरानो भएको भन्दै तत्कालिन अवस्थामा बुर्किङ नखुलाउने स्पष्ट पारे ।

‘डिजेलको मूल्यका आधारमा बढाइएको भाडादर हालको बजारमूल्य अनुसार काम नलाग्ने भएको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले, ‘गाडीको पार्टपुर्जा र लुब्रिकेन्ट्सको मूल्य बढेका आधारमा सवारीको भाडादर बढाइनुपर्छ ।’

उता सरकार भने भाँडा बढाउने पक्षमा छैन् । यातायात व्यवस्था विभागले अहिलेकै अवस्थामा भाडा संयोजन नहुने बतायो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले आउँदो १५ गते अग्रिम बुकिङको टुंगो लाग्ने बताउँदै भाडा संयोजनका बारेमा सरकारले केही नसोचेको बताए ।

प्रहरीका अनुसार दसैंमा करिब २० लाख यात्रु उपत्यकाबाट बाहिरिन्छन् । यसरी सरकार र व्यवसायी बिचको विवादले कतै दशैंमा यात्रुहरुले अग्रिम टिकट पाउन त कठिन हुने होइन भन्ने चिन्ता पैदा भएको छ ।