सञ्चारकर्मीको हितमा सञ्चारमन्त्री प्रतिबद्ध

सञ्चारकर्मीको हितमा सञ्चारमन्त्री प्रतिबद्ध


सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई आइतबार राजधानीमा सम्मान तथा बधाई ज्ञापन गर्दै मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि मन्त्रालयले ‘मिडिया हाउस’लाई सहयोग गर्ने बताएका राससले जनाएको छ ।

‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर मिडिया हाउसले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ र मन्त्रालयले पनि ती मिडिया हाउसलाई सहयोग गर्नुपर्छ’, मन्त्री बस्नेतले भने । मन्त्रालयका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयन भए-नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले अनुगमन गरिरहेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ मिडियाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताए ।

सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टसमेत उपस्थित रहेको कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, नियुक्त पत्र, भौतिक तथा पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताका कटिबद्ध भएर अगाडि बढ्ने बताए ।