स्वास्थ्यमन्त्री अस्वस्थ, वीर अस्पताल भर्ना

स्वास्थ्यमन्त्री अस्वस्थ, वीर अस्पताल भर्ना


टाइफाइडका कारण अस्वस्थ भएपछि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल उपचार लागि आइतबार वीर अस्पताल भर्ना हुुनुभएको छ । केही दिनदेखि अस्वस्थ महसुस गर्नुभएका मन्त्री पोखरेल स्वास्थ्यजाँचको लागि वीर अस्पताल पुग्नुभएको थियो । वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिनुभयो ।

बताइएअनुसार उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । चिकित्सकले आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्ण रुपमा आरामको जरुरी रहेको, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्ने र औषधि सुरु भइसकेको जानकारी दिएका छन् ।

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न हुुनुहुन्छ । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुग्नुभएका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा हुुनुहुन्थ्यो ।