खाद्य संस्थानको गोदाममा ढुंगा, बालुवा र धुलो !

खाद्य संस्थानको गोदाममा ढुंगा, बालुवा र धुलो !


नेपाल खाद्य संस्थानको थापाथलीस्थित गोदाममा रहेको खाद्यान्नमा ढुंगा बालुवा र धुलोको भण्डारण गरिएको भेटिएको छ । सो गोदाममा मुगु र कालिकोटबाट ल्याएको सिमीमा ठेकेदारले ढुंगा, बालुवा र धुलो मिसाएर संस्थानलाई दिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताएका छन् ।

मन्त्री मण्डलले गरेको अनुगमनबाट सो स्थानमा खाद्यान्न हुनु पर्नेमा बालुवा र धुलो मिसाइएको अबस्थामा सामान रहेको भेटिएको हो । बाढी प्रभावित क्षेत्रमा पठाउनका लागि सिमी प्याकिङ गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ ठेकेदार भगवान गिरीले बताएका छन् ।

थापाथली गोदाममा ७ सय २० क्विन्टल सिमीमध्ये ४० क्विन्टल बाढी प्रभावित क्षेत्रमा पठाईएको वाग्मती अंचल प्रमुख भेषनाथ न्यौपानेले बताए । उनका अनुसार गोदाममा रहेको ७ सय ८ क्विन्टल तितेफापरमा पनि धुलो फेला परेको छ । गोदाम प्रमुख न्यौपानेका अनुसार खाद्य संस्थानका तत्कालिन प्रमुख शिवहरी श्रेष्ठ र थापाथली गोदाम प्रमुख मोहनप्रकास चन्दको पालामा खरीद गरीएको उक्त खाद्य बस्तुमा ठेकेदारसंगको मिलेमतोमा अखाद्य बस्तु मिसाईएको आरोप लगाएका छन् । उनले भने,‘सबै खाद्यवस्तुको खरीदमूल्य लुकाईएको छ, बिक्री मूल्य १ सय ५० रुपैयाँ तोकिएको अवस्थामा सामान रहेको छ सबै विवरण खोज्दै छु ।’

गोदाममा २०७२ सालमा भूकम्पपिडीतका लागि आएको चामल समेत वितरण नगरी राखिएको अवस्थामा भेटिएको छ । आपूर्तिमन्त्री मण्डलले कुहेको र फोहर मिसिएको खाद्यपदार्थ जनताकहाँ नपठाउन निर्देशन दिए । खाद्य संस्थानको समेत जिम्मेवारी लिनुभएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई उनले यस्तो निर्देशन दिएका छन् ।