दुर्गम गाउँ लौकाहावासीलाई राहत

दुर्गम गाउँ लौकाहावासीलाई राहत


रौतहटको दुर्गम गाउँ लौकाहाका बाढीपीडितलाई संजय स्मृति प्रतिष्ठानले राहत साम्रगी वितरण गरेको छ । स्थानीय प्रशासनको सहयोगमा प्रतिष्ठानले करिब ३० भन्दा बढी घरपरिवारलाई राहत साम्रगी वितरण गरेको हो । बाढीका कारण तराईमा हजारौँ जनताले जनधनको क्षति ब्यहोरिरहेको बेला लौकाहामा सरकारपछि बढी राहत वितरण गर्ने आफू पहिलो संस्था भएको दाबी प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले गरेका छन् ।

तराईका जनतालाई अप्ठ्यारो अवस्थामा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै मास्केले बाढी गएको लामो समय वितिसक्दा समेत सरकारी राहत पाउन नसकेका पीडितलाई प्रतिष्ठानले स्थानीय प्रहरीको सहयोगमा प्रभावित क्षेत्रमै पुगेर चामल, दाल, तेल, ब्लाङ्केट, चाउचाउ, म्याट्रेस, झुल, औषधी लगायतका सामाग्री वितरण गरेको जानकारी दिए । जिल्ला विकास रौतहटका इन्जिनियर दिपेन्द्र यादवले प्रतिष्ठानले सहयोगले लौकाहाबासीलाई राहत मिलेको बताए ।

सो प्रतिष्ठानले यसअघि बालबालिका, अशक्तलाई सहयोग गर्दै आएको छ । त्यस्तै प्रतिष्ठानले हरेक वर्ष नेपाली भलिबलमा योगदान गरेको एक पुरुष र एक महिला खेलाडीलाई सञ्जय स्मृति खेलकुद अवार्डबाट सम्मान गर्दै आएको छ ।