देउवाको अभिव्यक्तिप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि

देउवाको अभिव्यक्तिप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि


प्रधानमन्त्री शेरबहादर देउवाले संविधान संशोधनका बारेमा भारतमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि प्रकट गरेपछि सत्तारुढ दलबीचनै विवाद रहेको पुष्टि भएको हो ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले यसअघिनै असन्तुष्टि जनाएपनि प्रचण्डले यस विषयमा खासै मुख खोलेका थिएनन् ।

भारतमा देउवाले दिएको अभिव्यक्ति गम्भीर भएको भन्दै पार्टीको कार्यक्रमका निम्ति विराटनगर पुगेका अध्यक्ष प्रचण्डले यस विषयमा देउवासँग गम्भीर छलफल गर्ने बताए ।

‘त्यो कुन सन्दर्भमा उहाँले भन्नुभएको हो, उहाँलाई भेटेर मैले कुरा त गर्नैपर्छ’, प्रचण्डको भनाइ थियो, ‘तर त्यो सन्दर्भ त्यहाँ आवश्यक पनि थिएन। संविधान त एउटा गतिशील दस्तावेज हो । आवश्यकताअनुसार संशोधन भइ नै रहन्छ ।’ अध्यक्ष प्रचण्डले संविधान संशोधनका बारेमा अहिले सन्दर्भ टुंगिसकेको दाबी गरे ।

उनको तर्क थियो, ‘किनकी राजपासमेत सहभागी भएर संशोधनको प्रक्रियालाई टुंगो लगाइएको छ । अब निर्वाचन गर्ने अनि निर्वाचनपछि कस्तो सरकार आउँछ, कस्तो संसद आउँछ, के–के विषयमा संशोधनको आवश्यकता पर्छ त्यो पछिको विषय हो । भोलि हामी संशोधन गरिहाल्छौँ भनेर अहिले बोलिराख्ने आवश्यक विषय होइन भत्रे हामीलाई लागेको छ ।’

आफूले नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा कतै पनि र कसैसित प्रतिवद्धता नगरेको समेत उनले बताए ।
अध्यक्ष प्रचण्डले कोशी उच्च बाँधका बारेमा पुनर्विचार गरिनुपर्नेमा जोड दिए ।

यता, देउवाले नेपालीको शिर झुक्ने कुनै त्यस्तो सम्झौता नभएको भारत भ्रमणबाट फर्के लगत्तै विमानस्थलमा बताइसकेका छन् ।

भारत भ्रमणका क्रममा देउवाले दिएका केही विवादास्पद अभिव्यक्तिले कतै प्रचण्ड–देउवा बीचको सम्बन्धमा बाधा पुग्ने त होइन् भन्ने चिन्ता गर्न थालिएको छ ।