व्यक्तिले गल्ती गर्दा एन्फालाई करोडौँको क्षति

व्यक्तिले गल्ती गर्दा एन्फालाई करोडौँको क्षति


– श्रीविक्रम भण्डारी

तीन व्यक्तिको गल्तीका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १ करोड ५० लाख घाटा लाग्ने भएको छ । एन्फाका महासचिव धीरेन्द्र प्रधान र कर्मचारीहरू गोकुल थापा र वसन्त रिजालको गम्भीर गल्तीले गर्दा यस्तो स्थिति उत्पन्न भएको हो ।

प्राप्त जानकारीअनुसार थ्रीस्टार क्लबलाई एएफसी कपको प्लेअफमा सहभागिताको लागि एएफसीले एन्फामा पत्राचार गरेको थियो । एएफसी एकपटक मात्र नभई चार पटक एन्फालाई सो सम्बन्धमा पत्राचार गरेको थियो । तर, एन्फाका महासचिव प्रधान र कर्मचारी थापाको मिलोमतोमा उक्त पत्र गायब गरिएको जानकारीमा आएको छ ।

प्रधान र थापाले कुन नियतले कसको निर्देशनमा एएफसीको पत्र गायब गरे त्यसको खुलासा भइनसके पनि नेपालको नम्बर एक क्लब तथा लिग च्याम्पियन थ्रीस्टार भने उनीहरुको षडयन्त्रको शिकार बन्यो । परिणामतः, थ्रीस्टार एएफसी कपको प्लेअफ फुटबल प्रतियोगिता खेल्नबाट बन्चित हुनुप¥यो ।

संचारमाध्यमहरुमा अखिल नेपाल फुटबल संघ (एन्फा)को गैरजिम्मेवारीका कारण थ्रीस्टारले एएफसी कपको प्लेअफ खेल्न पाएको समाचार प्रेसित भए पनि साँचो रुपमा भन्नुपर्दा त्यो सत्य होइन । त्यो कार्य एन्फाले गरेको नभई एन्फाका महासचिव र कर्मचारीको गलत व्यवहार थियो । उनीहरु एन्फासंग आवद्ध भएकाले एन्फाको विवादमा तानिएको स्रोतले दाबी गरेको छ । उनीहरुको यो हर्कतको पर्दाफास भएपछि थ्रीस्टारले पत्रकारसम्मलेन गर्दै एन्फासंग क्षतिपूर्तिवापत ६ करोडको माग गरेको थियो । थ्रीस्टारले एएफसी कपको प्लेअफ खेल्न करोडौँको लगानी गरेको भन्दै प्रतियोगिता खेल्नबाट बन्चित भएपछि क्लबको मानमर्दन भएको भन्दै क्षतिपूर्तिवापत ६ करोड माग गरेको थियो । त्यसपछि एन्फामा ठूलो हडकम्प मच्चिएको थियो ।

थ्रीस्टारले एएफसी कपको प्लेअफ खेल्नबाट आफुलाई एन्फाले बन्चित गरेको र उक्त प्रतियोगिताको तयारीको लागि करोडौं रुपैयाँ खर्च गरेको र सोको क्षतिपूर्तिको लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा दोषीको छानविन गरी कारवाही गर्न निवेदन दर्ता गरेको थियो । त्यसपछि राखेपले सत्यतथ्य पत्ता लगाई छानविन गरी रायसहितको प्रतिवेदन पेश गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य देवकुमार अधिकारी (बद्री)को संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

उक्त छानविन कमिटीले एन्फाको कामकारवाहीले गर्दा थ्रीस्टार क्लबले एएफसी कप दोश्रो चरणको प्लेअप खेल्नबाट बन्चित हुनु परेको, आर्थिक नोक्सानी व्यहोर्नु परेको, क्लबको मिहिनेत खेर गएको र साख दाउमा लागेको भन्दै तत्काल एन्फालाई उचित क्षतिपूर्ति दिलाउने व्यवस्था मिलाउन भन्दै राखेपमा प्रतिवेदन बुझाएको थियो । तर उक्त छानबिन कमिटीले एन्फामा चलखेल गर्ने दोषीहरूलाई बचाएर एन्फालाई मात्र दोषीको पात्र बनाएपछि यो विवादले उग्ररुप लिएको थियो ।

त्यसपछि एन्फाले यहिी मुद्दाको छिनोफानो गर्न वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । त्यसको अन्य दुई सदस्यमा रमेश रायमाझी र संजीव मिश्र रहेका थिए । उक्त छानविन समितिले पटक–पटक एएफसीबाट थ्रीस्टारको सहभागिताको सम्बन्धमा एन्फामा पत्राचार भएको प्रस्ट पार्दै एन्फाका पदाधिकारी र कर्मचारीको कमजोरीले गर्दा थ्रीस्टार खेल्नबाट बन्चित भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यस्तै छानविन समितिले सहमति अनुसार एन्फाको इमेल अध्यक्ष नरेन्द्र श्रेष्ठ, कर्मचारी गोकुल थापा र वसन्त रिजालले खोल्ने र चलाउने गरेको प्रस्ट पार्दै महासचिव प्रधानले अहिलेसम्म इमेल नखोले पनि उनले आफ्नो पदीय दायित्व र जिम्मेवारी ननिभाएको भनी प्रधानलाई दोषी ठहर गरेको छ । त्यसै अध्यक्ष श्रेष्ठले उक्त प्रतियोगितामा टीम दर्ता सम्बन्धमा नेतृत्वदायी भूमिका ननिभाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी छानविन समितिले एन्फामा वुझाएको प्रतिवेदनमा महासचिव प्रधान, कर्मचारी थापा र रिजाललाई दोषी देखाइएको छ ।

त्यसपछि बसेको एन्फाको पहिलो कार्यसमितिको वैठकमा प्रधान, थापा र रिजालको व्यापक विरोध भएको थियो । उनीहरुको सवैभन्दा बढी विरोध गर्ने र उनीहरुलाई कारवाहि गर्नुपर्छ भन्नेमा एन्फाका उपाध्यक्ष मणी कुँवर थिए । तर पछि कार्यसमितिको वैठकमा बहुमत नपुगेपछि उक्त विरोध विरोधमै सिमिति भएको थियो । पहिलो वैठकमा बहुमत नपुगेपनि गत साउन ३२ गते सम्पन्न दोश्रो वैठकमा भने बहुमत पुगेको थियो । पहिले उग्ररुप धारणा गरेका उपाध्यक्ष कुँबरले यो बैठकमा मौनता साँधेका थिए । उनले किन मौनता साँधे र अध्यक्ष श्रेष्ठ साथ दिए त्यो रहस्यमयी बनेको छ । प्राप्त जानकारी अनुसार कुँवरलाई अगामी अध्यक्ष बनाउने श्रेष्ठले बाचा गरेपछि उनले श्रेष्ठको साथ दिएको बुझिएको छ ।

तसर्थ तीन महिनाको रस्साकस्सी पछि थ्रीस्टारलाई एन्फाले क्षतिपूर्ति वाफत १ करोड ५० लाख दिने निर्णय गरको छ । तर उक्त रकम थ्रीस्टारले कहिले पाउने हो त्यसको टुङ्गो भने लागेको छैन । रकम स्रोत खोजेर साधारणसभामा जाने र त्यसपछि थ्रीस्टारलाई दिने निर्णय भएको जानकारीमा आएको छ । महत्वपूर्ण कुरा के छ भने उक्त गल्ती व्यक्तिले गरेका हुन । अव व्यक्तिले गरेको गल्तीको क्षतिपूर्ति एन्फाले तिर्ने कि गल्ती गर्नेले त्यो अहम विषय बनेको छ । यदि व्यक्ति गल्ती गर्दै जाने र संस्थाले क्षतिपूर्ति दिदै जाने हो भने एन्फा भोलि कंगाल नहोला भन्न सकिँदैन ।