चुनावमा बालबालिकाको प्रयोग हुन नदिने प्रतिबद्धता

चुनावमा बालबालिकाको प्रयोग हुन नदिने प्रतिबद्धता


निर्वाचनको बेला दलीय तथा उम्मेदवारको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्ने प्रचलनमा बढोत्तरी भएको परिवेशमा निर्वाचनसम्बन्धी गतिविधिमा कलिला बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा सरोकारवाला निकायले हस्तारक्षर गरेका छन् । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउने भन्दै निजी विद्यालयका छाता संगठन तथा शिक्षा मन्त्रालय र शिक्षा विभागका प्रतिनिधिले सोमबार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

स्थानीय तहको आगामी असोज २ गते प्रदेश नम्बर २ मा र प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिरमा देशभर हुने निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिने सम्बन्धमा निर्वाचन आयोगले सरोकारवालासँग गरेको छलफलपछि उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।

प्रतिबद्धतापत्रमा ‘मुलुकमा हुन गइरहेको तेस्रो चरणको स्थानीय तह एवं प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ मा कलिला बालबालिकालाई कुनै पनि निर्वाचनको गतिविधिमा प्रयोग नगर्न÷नगराउन सबै राजनीतिक दलसँग हार्दिक अपिल गर्दछौँ’ भनिएको छ ।

स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधारशिला भएको हुँदा निर्वाचनले लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्ने, शासनको सबलीकरण गर्दै सुशासनमा टेवा पु¥याउने विश्वव्यापी मान्यतालाई आत्मसात् गर्नुपर्ने जनाउँदै उनीहरुले सो प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका राससले जनाएको छ ।

प्रतिबद्धता पत्रमा अगाडि भनिएको छ– ‘हामी कुनै हालतमा हाम्रा कलिला बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग गर्न दिने छैनौँ भनी यो प्रतिबद्धता जाहेर गर्दछौँ । साथै हामीहरूले निर्वाचन आयोगले जारी गरेका निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्ने पूर्ण प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।

प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नेहरुमा शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम, अभिभावक सङ्घ नेपालका केशव पुरी, एन प्याब्सन कर्णबहादुर शाही र संगीता सिलवाल, हिसान नेपालका नवराज पाण्डे, केन्द्रीय बालकल्याण समितिका तारक धिताल, राष्ट्रिय मानव अधिकार आयोगका यज्ञप्रसाद अधिकारी र प्याब्सनका दीपिका रिमाल थापा रहेका छन् ।