सिजनल भाइरलका बिरामी बढेपछि विद्यालय नै बन्द

सिजनल भाइरलका बिरामी बढेपछि विद्यालय नै बन्द


विद्यार्थीहरूमा एक्कासी भाइरलको प्रकोप देखिएपछि लमजुङ सदरमुकाम बेसीशहरको एक विद्यालय बन्द गरिएको छ । भाइरल ज्वरो तथा जण्डिसका कारण अधिकांश विद्यार्थी बिरामी परेपछि सदरमुकामस्थित अर्थली प्याराडाइज आवासीय मावि केही दिनका लागि बन्द गरिएको हो ।

विद्यार्थीहरूमा ज्वरो आउने, टाउको दुख्ने, आँखा पाक्ने, जण्डिसलगायतका समस्या आएपछि विद्यालय नै बन्द गर्नुपरेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

यस्तै, जिल्ला सामूदायिक अस्पतालमा समेत सिजनल भाइरलका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । दुषित पानी र विभिन्न कारणले समस्या भएकाहरू उपचारको लागि अस्पताल आएको बताइएको छ । दैनिक दुई सयको हाराहारीमा बिरामी आउने जिल्ला सामूदायिक अस्पतालमा झण्डै चारसय बिरामी आउन थालेको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए । उनका अनुसार अस्पतालमा झाडापखाला, आउँ, जण्डिस, म्यादीज्वरो (टाईफाईड)का बिरामीको चाप बढेको छ ।

६२ शैयाको अस्पतालमा बिरामी धेरै हुँदा ठाउँ नपुगेको अस्पतालका प्रशासकिय प्रमुख देवकोटा बताउँछन् । ‘भर्ना भएका बिरामीहरूलाई भुइँमै ओच्छ्यान बनाएर सुताउन बाध्य छौँ’, उनले भने, ‘दैनिक रुपमा विरामीको चाप बढेको बढ्यै छ ।’

लमजुङ जिल्ला सामूदायिक अस्पताल बाहेक जिल्लाका अन्य अस्पतालहरूमा पनि बिरामीको चाप बढेको छ । अन्य अस्पतालहरूमा पनि सोही प्रकृतिका समस्या भएका बिरामीहरूको चाप बढेको हो । लमजुङ मोडेल अस्पतालका डाक्टर तिलकबाबु घिमिरेले बढ्दो गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने तथा दुषित पानी सेवन गर्नाले यस्तो रोग लाग्ने गरेको बताउँछन् ।
– छविलाल बगाले