उत्तर कोरियाको क्षेप्यास्त्र जापानी समुद्रमा खस्यो

उत्तर कोरियाको क्षेप्यास्त्र जापानी समुद्रमा खस्यो


उत्तर कोरियाले मंगलबार बिहान परीक्षण गरेको ब्यालेस्टिक क्षेप्यास्त्र जापानको सागरमा खसेको छ । समुन्द्रमा सो क्षेप्यास्त्र खसेपछि सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो । साथै मोबाइलमा म्यासेज पठाएर पनि सतर्क रहन भनिएको छ । उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाश पार हुँदै समुद्रमा खसेको छ । उसको आकाशमा यसरी उत्तर कोरियाली क्षेप्यास्त्र आइपुगेको यो पहिलो घटना हो ।

जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ । जापानी सरकारी समाचार संस्था एनएचकेका अनुसार उक्त मिसाइल समुद्रमा खस्नु अघि नै आकाशमा तीन टुक्रा भएको थियो । यद्यपि त्यसले क्षति पुर्‍याए नपुर्‍याएकोबारे केही खुलेको छैन ।

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । सरकारले सुरक्षित रहन भन्दै सूचना जारी गरेपछि जापान बस्दै आएकाहरु आतंकित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् एकअर्कालाई सूचना शेयर गरिरहेको समाचार विविसेले प्रशारण गरेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको यो क्षेप्यास्त्र परीक्षण गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले जापानी नागरिक र जापानमा बस्दै आएका विदेशी नागरिकहरुको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आए पनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना भएको अधिकारीहरुले बताएका छन् । उत्तर कोरियाको यो क्षेप्यास्त्र परीक्षणपछि जापान र उत्तर कोरियाबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप उपयुक्त कदम चाल्ने बताएको छ ।

मंगलबार बिहान परीक्षण गरिएको उत्तर कोरियाको मिसाइललाई ध्वस्त पार्न जापान सरकारबाट कुनै प्रयास समेत नभएको समाचारमा जनाइएको छ । उत्तर कोरियाले यसअघि अमेरिकाको गुआम टापुमा आक्रमणको धम्की दिएको थियो । गुआम दक्षिण पूर्वी जापानबाट २ हजार किलोमिटरको दूरीमा पर्दछ ।