एकै पदमा राजपाका नौ आकांक्षी !

एकै पदमा राजपाका नौ आकांक्षी !


तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट महोत्तरीे जलेश्वर नगरपालिकाको प्रमुख पदमा नौ जना आकांक्षी देखिएका छन् ।

पार्टी चुनावमा जाने निर्णय गरेलगत्तै महोत्तरी जिल्लामा पार्टीले उम्मेदवारको टुंगो लगाउन खटाएको केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीका अनुसार जलेश्वरमा सर्वसम्मतिको वातावरण बन्न नसकेपछि प्रमुख पदमा नौ जना सम्भाव्य उम्मेदवारका नाम आएका छन् ।

राजपा नेपालबाट नगरप्रमुख पदका सम्भाव्य उम्मेदवारमा सुशील शर्मा, सुरेश पाण्डे, सुरेशप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, दीपुकुमार साह, रामशंकर मिश्र, रोशन महासेठ, रामसिकिल चौधरी र जयरुद्र झा रहेको केन्द्रीय पर्यवेक्षक चौधरीले बताउनुभयो ।

त्यस्तै उमप्रमुखमा पनि सहमतिको वातावरण बन्न नसकेपछि पाँच जनाको नाम आएको पर्यवेक्षक चौधरीले बताउनुभयो । उपप्रमुखका लागि गुन्जनकुमारी राय, मुनचुन देवी महतो, अनिताकुमारी साह, प्रान्ती पाठक र कलिमा खातुनको नाम आएको उहाँले बताउनुभयो ।

राससका अनुसार, राजपा नेपालका विगत तीन दिनदेखि पटकपटक जलेश्वरमा बसेको बैठकले सर्वसम्मतिको वातावरण तयार गर्न नसक्दा जलेश्वरका प्रमुखमा नौ जना र उपप्रमुखमा पाँच जना सम्भाव्य उम्मेदवारको नाम अघि आएको छ ।

यसैबीच सो पार्टीको केन्द्रीय समितिले महोत्तरीमा सर्वसम्मतिको वातावरण बनाउन डा विजय सिंह, श्रीमती सुरिता साह, सुनिल रोहित, रानी तिवारी, जैनुल राईन र श्याम यादवसहितका छ सदस्य उच्चस्तरीय समिति पठाएको छ ।

सो उच्चस्तरीय समितिले जलेश्वरका प्रमुख र उपप्रमुखमा सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन् । तर यस उच्चस्तरीय समितिले पनि सर्वसम्मती रुपमा उम्मेदवारको नाम टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिले नै यहाँको प्रमुख र उपप्रमुखको नाम टुंगो लगाउने केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीले बताउनुभयो ।