प्रदेश नम्बर २ चुनाव : जिल्लालाई सुरक्षाकर्मी परिचालनको जिम्मा

प्रदेश नम्बर २ चुनाव : जिल्लालाई सुरक्षाकर्मी परिचालनको जिम्मा


प्रदेश नम्बर २ मा अगामी असोज २ गते हुने चुनावको लागि आवश्यक सुरक्षाकर्मी परिचालनको जिम्मा गृहमन्त्रालयले जिल्लालाई दिएको छ ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले घटना र विचारसँग कुराकानी गर्दै आवश्यक सुरक्षाको प्रवन्ध मिलाउनेदेखि सुरक्षाकर्मी परिचालनको जिम्मा जिल्लामा रहेका सुरक्षा संयन्त्रलाई दिएको जानकारी दिए ।

उनले भने,‘कस्तो सुरक्षा चाहिने हो, कति सुरक्षाकर्मी परिचालन गर्ने हो, सम्पूर्ण अधिकार जिल्लालाई प्रत्यायोजन गरिएको छ ।’

सुवेदीका अनुसार एकीकृत सुरक्षा योजना अनुसारनै जिल्लाले आवश्यक परको खण्डमा चार वटै सुरक्षा फोर्सलाई प्रयोग गर्न सक्नेछ ।

मुख्य चुनौती ‘बाढीपहिरो कटान’

यसैबीच, प्रदेश नम्बर २ को चुनावका निम्ति सरकारले मुख्य चुनौतीका रुपमा बाढीपहिरो कटानलाई लिएको छ ।
चुनाव विरोधी राजपा सहितका प्राय समुहले चुनावमा भाग लिने प्रतिवद्धता जनाइसकेकाले अव मुख्य चुनौतीका रुपमा ‘बाढीपहिरो कटान’ रहेको गृहममन्त्रालयले जनाएको छ ।

सुवेदीले भने,‘चुनाव विरोधी समुह राजपा समेत निर्वाचनमा सहभागी हुने ग्यारेन्टी भएकाले कसैको थ्रेट छैन्, अब मुख्य चुनौती बाढीपहिरो कटान हो ।’

उनले समयमै चुनाव गर्न गृह मन्त्रालयले सम्पूर्ण तयारी पुरा गरिसकेको समेत बताए । उनका अनुसार बाढीपहिरो कटानबाट तराईमा क्षतीग्रस्त सडक निर्माणको जिम्मा आर्मीलाई सरकारले दिइसकेकाले चुनावसम्म भत्किएका सडक निर्माण हुने विश्वास व्यक्त गरे । -विजय दमासे