चितुवा मार्न प्रहरी परिचालन

चितुवा मार्न प्रहरी परिचालन


बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ ।

नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।

शनिबार पाटन इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमणकारी चितुवाको खोजी शुरु गरेकोे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

उनले भने,‘‘चितुवाले मानवबस्तीमा पसेर मानिसमाथि नै आक्रमण गर्न थालेपछि हातहतियारसहित १७ जनाको प्रहरी टोली खटाइएको छ ।’

प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए । राससका अनुसार प्रहरीले स्थानीय तहसँग समन्वय गरेर नरभक्षी चितुवा मार्नका लागि प्रयास गरिरहेको छ ।

गतवर्ष भदौमा पनि चितुवाले लगातार तल्लो सोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिए पछि हतियारसहितका १५ प्रहरी परिचालन गरिएपनि चितुवा मार्न सकेको थिएन ।

तल्लोस्वराडको साविकको कुलाउ, विशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेवलगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ जनाभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।