डा. शेखर कोइराला भन्नुहुन्छ : सभापति पद्धतिमा हिँड्न चाहनुभएन

डा. शेखर कोइराला भन्नुहुन्छ : सभापति पद्धतिमा हिँड्न चाहनुभएन


नेपाली काङ्ग्रेसको तेह्रौँ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेर केन्द्रीय सदस्यमा विजयी बन्नुभएका काङ्ग्रेस नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले लिएका हरेक निर्णयको जिम्मेवारी आफूले कदापि लिन नसक्ने बताउनुभएको छ । उहाँको भनाइ छ, ‘कार्यसमितिमा भएका निर्णयको जिम्मेवारी त हामीले पनि लिनैपर्‍यो, त्यसबाहेकका निर्णयहरूलाई ‘मेरिट बेसिस’मा लिन्छु । सभापतिले गरेका हुन् भन्दैमा आँखा चिम्लेर मान्न सकिँदैन ।’ काङ्ग्रेस आफ्नो मौलिक विचार, सिद्धान्तबाट च्युत भएकोमा चिन्ता प्रकट गर्दै देउवाको कमजोर नेतृत्व क्षमताका कारण यस्तो अवस्था आएको सङ्केत डा. कोइरालाले गर्नुभयो ।

बीपीको विचार जुन काङ्ग्रेसको मौलिक पनि हो, त्यसको परित्याग त गिरिजाप्रसाद कोइरालाले नै गरेका होइनन् र भन्ने हाम्रो जिज्ञाशाको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘…राजालाई गिरिजाबाबुले सधैँ साथ लिएर हिँड्न खोज्नुभयो, हात मिलाउन खोज्नुभयो राजासँग, तर राजाले मिलाउँदै नमिलाउने ! नेपाली मरिरहने, काङ्ग्रेसका कार्यकर्ता गाउँगाउँमा मरिरहने भएपछि उहाँले माओवादीलाई साथ लिएर हिँड्नुभएको हो ।’ डा. कोइरालाले अगाडि भन्नुभयो, ‘…तर बाह्रबुँदे सम्झौता बन्दाखेरिको परिवेश र त्यसपछिको परिवेशमा अन्तरिम संविधान बनाउँदासम्म चुक्दै पनि गयौँ हामी । त्यतिबेला गिरिजासँगै प्रचण्डहरूसँगको भेटघाटमा म पनि हिँड्थेँ । त्यतिबेला २०४७ सालको संविधानको प्रस्ताव जस्ताको त्यस्तै राख्ने, राजालाई पनि राख्ने र त्यसभित्र संसद्को मातहतमा सेनालाई ल्याउने, अनि अरू भित्र के–के परिवर्तन गर्ने हो मिलाएर गर्ने भन्ने कुराकानी प्रचण्ड र गिरिजाबाबुबीच भएको थियो । यो कुरा स्विकार्य भएको थियो माओवादीलाई ।’

राजा र गिरिजाप्रसाद कोइरालाबीच असमझदारी बढ्नुका कारणबारे चर्चा गर्दै नेता डा. कोइरालाले भन्नुभयो, ‘एकपटक मेरो भतिजको विवाहमा सहभागी हुन दिल्ली जाने क्रममा राजासँग भेट्नुभयो गिरिजाबाबुले । त्यो भेटका बेला राजाले प्रचण्डसँग दिल्लीमा भेट हुने–नहुनेबारेमा सोध्नुभएछ, उहाँले ‘हुन पनि सक्छ’ भन्ने लवजमा जवाफ दिनुभएछ । त्यसको एक–दुई दिनमै राजदूत श्याम शरणलाई बोलाएर राजाले भनेछन् कि गिरिजाप्रसादले दिल्लीमा प्रचण्ड भेट्दै छन्, कुरा के हो ? यो प्रकरणबारे जानकारी पाएपछि गिरिजाबाबुलाई अर्को धक्का लागेको महसुस भएको थियो ।

सभापतिका रूपमा शेरबहादुर देउवाले लिएका कैयन निर्णयप्रति असहमत डा. कोइरालाले माओवादीसँग केन्द्रीय स्तरमा चुनावी गठबन्धन बन्नु उचित नभएको बताउनुभएको छ । उहाँको भनाइ छ, ‘शेरबहादुरजीको समूहले केन्द्रबाट माओवादीसँग गठजोड गर्ने जुन नीति अलवम्बन ग¥यो, यसले काङ्ग्रेसलाई कमजोर पारेको छ । काठमाडौं हार्नुको एउटा मुख्य कारण पनि माओवादीसँगको गठबन्धन नै थियो ।’

० शेरबहादुर देउवाजीले रोलक्रमको दशौँ लहरमा रहेका विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर भविष्यमा उपसभापति बनाउने सङ्केत दिनुभयो, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
– यसले सभापति देउवा पद्धतिमा हिँड्न चाहनुहुन्न भन्ने देखाएको छ । विमलेन्द्र निधि या अरू कसैलाई उपसभापति बनाउन खोजिएको हो भने त्यसमा मेरो आपत्ति होइन । तर, विधि र प्रक्रियालाई सबैले अनुशरण गर्नुपर्छ भन्ने मेरो भनाइ हो । सिनियारिटी पनि हेर्नुपथ्र्यो र पद्धतिलाई पनि पछ्याउनुपथ्र्यो । त्यसो नगर्दा पार्टीमा मनपरीतन्त्र बढ्ने खतरा पैदा भएको छ ।

० अनि सरकारको काम त अहिलेसम्म ठीकै देख्नुभएको छ ?

– सरकारको कामप्रति आमजनताले जस्तो धारणा बनाएका छन्, मेरो पनि त्यस्तै हो । गृहमन्त्रीले सुरेन्द्रबहादुर शाहलाई सुरक्षा सल्लाहकार बनाएर तिनलाई गृह मन्त्रालयमा नराखी प्रहरी प्रधान कार्यालयमै कार्यकक्ष दिएर उच्च प्रहरी अधिकृतहरूलाई समेत उहाँको मातहत रहने गरी राखिदिनुभएको छ । योचाहिँ अतयन्त आपत्तिजनक कार्य हो । प्रहरी हेडक्वार्टर विभाजित हुने र त्यसले सिङ्गै प्रहरी सङ्गठनमा नकारात्मक प्रभाव पार्ने मैले देखेको छु ।