पाँच महिनापछि पुस्तक !

पाँच महिनापछि पुस्तक !


सामुदायिक विद्यालयको नयाँ शैक्षिक सत्र गत वैशाखदेखि शुरु भए पनि लमजुङको खुदीस्थित अमर माविका विद्यार्थीले पाँच महिनापछि बल्ल पुस्तक पाएका छन् । विद्यालयको कक्षा ९ र १० अध्ययनरत विद्यार्थीहरुले पाँच महिनाको पर्खाइपछि पुस्तक पाएका हुन् ।

प्रथम त्रैमासिक परिक्षा दिने बेलामा पुस्तक आउँदा विद्यार्थी एवम् तिनका अभिभावक छक्क परेका छन् । कक्षा ९ र १० को सामाजिक, गणित, अतिरिक्त गणित लगायतका पुस्तकहरु ढिला गरी आउँदा अध्ययनमा समस्या परेको विद्यार्थीको गुनासो छ ।

विद्यालयका प्रधानाध्यापक तिर्थ बस्नेतले छापाखानामै पुस्तक नभएका कारण विद्यार्थीहरुले समयमा पुस्तक पाउन नसकेको बताए । जिल्ला शिक्षा कार्यालय लमजुङले सबै विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुगिसकेको दाबी गरे पनि पाँच महिनापछि मात्र आफ्ना छोराछोरीको हातमा पुस्तक आएको भन्दै सम्बन्धित अभिभावकहरुले गुनासो गरेका छन् । पाँच महिनासम्म पनि विद्यालय प्रशासन मुकदर्शक भएर बसेको भन्दै असन्तुष्टि जनाएका छन् ।

यत्तिका समय पुस्तकविना विद्यार्थीले के पढे, के पढाइयो र तिनले के सिक्न पाए अनि परीक्षामा कस्तो परिणाम ल्याउने हुन् भन्ने जिज्ञासा उठेको छ, तर जवाफ दिने निकाय मौन छन् ।