महिला सशक्तीकरणका लागि सहयोग

महिला सशक्तीकरणका लागि सहयोग


नेपाली महिलाको जीवन सुधार, सशक्तीकरण र जागरुकता कार्यक्रमका लागि भारत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत महिलामैत्री समाजबीच हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार भक्तपुर, चितवन, सर्लाही र महोत्तरी जिल्लामा कार्यक्रम सञ्चालन हुनेछन् भने यसका लागि भारत सरकारको साना विकास कार्यक्रम योजनाअन्तर्गत ३१ लाख ९४ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग प्राप्त हुनेछ । कार्यक्रममार्फत महिलाको जनजीविका र उनीहरूको सशक्तीकरण तथा जागरुकता ल्याउन विभिन्न प्रकारको कार्यशाला तथा सीप विकाससम्बन्धी तालिमहरू प्रदान गरिने बताइएको छ । समाजले महिलाका लागि सिलाइ–कटाइ, ब्युटिसियन, बजार प्रवद्र्धनजस्ता कार्यक्रममार्फत उल्लिखित जिल्लाका महिलालाई सीपमूलक तालिम दिनेछ ।

यसैक्रममा बाढीबाट अतिप्रभावित दलित तथा विपन्न परिवारलाई नेपाल–भारत महिलामैत्री समाजले राहतस्वरूप त्रिपाल वितरण गरेको छ । बाढीका कारण घरको छानासमेत नरहेका दलित तथा विपन्न परिवारलाई समाजकी अध्यक्ष चन्दा चौधरीको अग्रसरता एवम् स्थानीय प्रशासनको रोहवरमा मटिहानी नरपालिकाको वडा नं. ६, ७ र ८ मा दुई सय ७५ घरपरिवारलाई राहतस्वरूप त्रिपाल वितरण गरेको हो । बाढीबाट अतिप्रभावित जिल्ला रौतहट र सर्लाहीमा समेत राहत सामग्री वितरण गरिने अध्यक्ष चौधरीले जानकारी दिइन् ।