प्रेस चौतारीमा चौपट्ट

प्रेस चौतारीमा चौपट्ट


नेपाल पत्रकार महासङ्घको चुनावी परिणामपछि एमालेनिकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीभित्र खैलाबैला मच्चिएको छ । चौतारीले अघि सारेका उम्मेदवारहरूलाई सङ्गठनकै जिम्मेवार पदाधिकारीले अन्तर्घात गरेको आरोप लागेको छ ।

सङ्ख्याको हिसाबले सबैभन्दा ठूलो सङ्गठन भए पनि महासङ्घमा चौतारीतर्फबाट पदाधिकारीविहीन अवस्था सिर्जना भएको छ । प्राप्त जानकारीअनुसार सङ्गठनभित्रैबाट घात भएको भन्दै उम्मेदवारहरूले चौतारी नेतृत्व र पार्टी प्रचार विभागमा निवेदन दिएका छन् । विगतमा जस्तो वाम–गठबन्धन नभएपछि चौतारीले उम्मेदवारहरूलाई करिब एक्लै चुनावी मैदानमा उतारेको थियो । थोरै मत रहेको नयाँ शक्तिनिकट प्रेस सोसाइटी चौतारीको साथमा भए पनि काङ्ग्रेस, माओवादी केन्द्र, राप्रपा, विप्लव, जनमोर्चासहितको महागठबन्धन अर्कातिर थियो । कुल १५ सय मतमा पाँच सय ५० मात्र मत चौतारीसँग थियो । बाँकी सबै मत गोविन्द आचार्य नेतृत्वमा रहेको गठबन्धनतर्फ थियो ।

यस्तो प्रतिकल अवस्थामा पनि चौतारीले अघि सारेका अध्यक्षका उम्मेदवार तीर्थ कोइराला र महासचिव बालकृष्ण बस्नेत मैदानमा कडा प्रतिस्पर्धामा उत्रिएका थिए । महासचिव बस्नेत गठबन्धनका तर्फबाट प्रतिस्पर्धी रहेका रमेश विष्टभन्दा ४१ मतले पछि परे । बस्नेतलाई आफ्नै प्यानलको ५६ मत परेको थिएन । ती मत विष्टलाई गएको मतगणनाका क्रममा देखिएको भन्दै छानबिनका लागि उनले नेतृत्वलाई जानकारी गराएका छन् ।

बस्नेत मात्र होइन, अध्यक्ष कोइरालालाई पनि प्यानलका ३२ मत परेको थिएन । उनी आचार्यभन्दा १०५ मतले पछि परे । करिब दुई सय मतले चुनाव हारेका उपाध्यक्ष मातृका पौडेलले पनि आफूलाई सङ्गठनभित्रबाट घात भएको भनी छानबिनको माग गरेका छन् । कोषाध्यक्षका उम्मेदवार खगेन्द्र पन्त, समावेशी सचिव सिद्धराज राई र महिला सचिव सुषमा पौडेलमाथि पनि अन्तर्घात भएको चर्चा चौतारीभित्र व्याप्त छ ।

घात गर्नेको नामै किटेर प्रचार विभागमा निवेदन परेको छ । जसमा चौतारीकै पूर्वअध्यक्ष गगन विष्ट, महासङ्घका निवर्तमान कोषाध्यक्ष सूर्यमणि गौतम, सञ्चार इलाका कमिटीका राजेन्द्र फुँयाललगायत एक दर्जन पत्रकारको सूचीमाथि छानबिन गरियोस् भन्ने उल्लेख छ । सूर्यमणिले महासङ्घको इतिहासमै सही हिसाबकिताब राखेको भनी तारिफ भएको थियो । चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र अर्याल मतदानका बेला सुरुमा सक्रिय देखिए पनि पछि निष्क्रिय भएको बताइन्छ । मतगणनासम्म पुग्दा अर्याल, गगन विष्ट, दीपक रिजाललगायत अनुपस्थित थिए । मतगणनामा रणनीतिक उपस्थिति र सहभागिता जनाउनुपर्ने बेला चौतारी अध्यक्ष गणेश बस्नेत आफ्ना पदाधिकारीहरू सइन्द्र राई, राजेश राई, गणेश पाण्डेसहितका सानो टिम लिएर रातभर मतगणनास्थलमा जुटेका थिए । उनलाई चौतारीका पूर्वअध्यक्षसहितको समूहले असहयोग गरेको पनि चौतारीमा व्यापक चर्चा छ ।

यतिसम्म कि मतगणनाका क्रममा निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले चौतारीका तर्फबाट पर्याप्त प्रतिनिधिसमेत व्यवस्था नभएको गुनासो गरिरहेका थिए । बालकृष्ण र मातृकाबाहेक अधिकांश उम्मेदवार हार्ने सङ्केत पाई मैदानबाट भागेका थिए । पछि अध्यक्ष बस्नेतले टेलिफोन गरी केही पत्रकारलाई बोलाएका थिए ।

यसपटक चुनावमा चौतारीभित्र अन्तर्घात र गुटको खेलले गठबन्धनका उम्मेदवारहरू अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टलाई ठूलो सहयोग पु¥याएको पत्रकारहरूबीच चर्चा छ । सुरुमा चौतारी अध्यक्ष, महासचिव, समावेशी सचिव र महिला सचिव पदाधिकारी जित्ने निष्कर्षमा थियो । मतदानका बेलासम्म महासचिव बस्नेत र एक सचिव मात्र जित्ने आन्तरिक निष्कर्ष निकाल्यो । बस्नेतलाई कान्तिपुर मिडिया ग्रुपले राम्रो साथ दिएको र भावी अध्यक्षको रूपमा समेत हेरिएकाले उनले चुनाव जित्ने अनुमान धेरैले गरेका थिए । काठमाडौंका मिडिया प्रतिष्ठानमा राम्रो पकड जमाएका उनलाई महासचिवको टिकट दिलाउन पार्टीका शीर्ष तहका नेताबीचमै सहमति जुटेको टिकट छनोट प्रक्रियामा सहभागीले बताए ।

तर, चौतारीको एउटा समूहले प्यानललाई नै मत दिएन । त्यसको एउटा कारण पदाधिकारी सबै शून्य बनाएर चौतारीको वर्तमान अध्यक्ष गणेश बस्नेतलाई असफल भएको सन्देश दिनु थियो । बालकृष्ण अर्कोपल्ट अध्यक्ष बन्लान् भन्ने डर पनि चौतारीका केही पदाधिकारीलाई थियो भनिन्छ । अध्यक्ष गोविन्द आचार्यको नवनिर्वाचित टिमले विजयोत्सव मनाइहँदा चौतारीमा भने आरोप–प्रत्यारोपले चर्को रूप लिँदै गएको छ ।