कहालीलाग्दो ढंगले फष्टाउँदै लागूऔषध कारोबार !

कहालीलाग्दो ढंगले फष्टाउँदै लागूऔषध कारोबार !


पछिल्लो समय अवैध लागूऔषधको कारोबार डरलाग्दो गरी फष्टाएको पाइएको छ । बितेको ६ दिनमा मात्रै अवैध लागूऔषधको कारोबार गर्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जनाएअनुसार त्यस्ता अवैध कारोबारीहरु सबैभन्दा बढी काठमाडौंबाट नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिररिक्षक महेन्द्र न्यौपानेका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङगास्थित चेकप्वाईन्टमा जाँच गर्ने क्रममा वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५५९५ नम्बरको बसमा सवार काठमाडौं पेप्सीकोला बस्ने ३२ वर्षीय अन्जन थापा र काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय विनय बिकलाई झोलामा लुकाई ल्याएको लागूऔषध डाइजोल्याप ४४ एम्पुल, फिनारगन ४४ एम्पुल, नुफिन ४७ एम्पुल, नाइट्रोजेपाम ११ ट्याब्लेटसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकप्वाइन्टमा जाँच गर्ने क्रममा ना.७ ख २२२६ नम्बरको बसमा सवार कैलाश गाउँपालिका–५ बस्ने २० वर्षीय राज डिमडुङ र मनहरि गाउँपालिका–९ बस्ने ३० वर्षीया चन्द्रकुमारी स्याङतानलाई साथमा रहेको १४ केजी ५ सय ग्राम लागूऔषध गाँजासहित मंगलबार नै प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, सोही दिनमै महोत्तरी बर्दिबास नगरपालिका–४ माईस्थान बस्ने बुधन महतोको घरमा लुकाई राखेको ३ किलो लागूऔषध गाँजासहित उनकी श्रीमती ४५ वर्षीया गंगादेवी महतो र छोरा २३ वर्षीय शंकर महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्तामा स. १ ह ७५६ नम्बरको टेम्पोमा जाँच गर्ने क्रममा सोही नगरपालिका–१२ दुर्गाटोल बस्ने २४ वर्षीय मोहमद मतेबुलको साथबाट फेनरागन ६० एम्पुल, डाइजेपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल र गाँजा १० ग्राम लागुऔषध बरामद गरी निज मोहमद र टेम्पोचालक समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, आइतबार सुन्दर हरैचा नगरपालिका–६ बस्ने २० वर्षीय आशिष घिमिरेलाई प्रहरीले अवैध लागूऔषध लुपीजेसीक १५ एम्पुल, एभील १५ एम्पुल र डाईजेल्याब १५ एम्पुल सहित पक्राउ गरिएको बताइएको छ ।

बुढीगंगा गाउँपालिका–४ राहुल पेट्रोल पम्प अगाडि कोशी राजमार्गमा प्रहरीले घिमिरेलाई चेकजाँच गर्दा शरीरको विभिन्न भागमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध बरामद गरेको प्रहरी बताउँछ ।

त्यस्तै, कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा जाँच गर्ने क्रममा सोही ठाउँ बस्ने १८ वर्षीय कृष्ण बिक लगायत ३ जनालाई लागूऔषध डाइजेपाम ७० एम्पुल, नुर्फिन ७० एम्पुल र फेनारगन ७० एम्पुलसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यता, विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटमा जाँच गर्ने क्रममा भारत जोगवनीबाट पैदल आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका–१४ बस्ने ३१ वर्षीय रन्जित राईलाई साथमा रहेको लागूऔषध डाइजेल्याब ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यसरी पछिल्लो क्रममा लागूऔषध कारोबारी बढेको देखिन्छ । यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव महानिररिक्षक न्यौपानेले घटना र विचारलाई जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय लागूऔषधको कारोबार बढेसँगै प्रहरीले आफ्नो निगरानीलाई बढाएको छ । प्रहरीले सुचनाका आधारमा भित्रैबाट अनुसन्धान गरि त्यस्ता समूहलाई नियन्त्रणमा लिनेकाम तीव्र रुपमा गरिरहेको उनको भनाई छ ।

विजय दमासे