एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको राजनीति भए एमाले प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।
उपचारका लागि थाइल्याण्ड पुगेर फर्किएका ओलीले बुधबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राजपाले निषेधको राजनीति गर्न खोजेको भन्दै निषेधको राजनीति त्याग्न आग्रह गरे ।
उनले संविधान संशोधन प्रक्रियामा सहभागी भैसकेपछि पनि परिणामलाई स्वीकार्न अफ्ठेरो परेको बताउँदै एमाले प्रतिवादमा आउन अवस्था नबनाउन राजपालाई चेतावनी दिए ।
‘संविधान संशोधन प्रकृयामा सहभागी भएपछि परिणाम स्वीकार्न गाह्रो भएजस्तो देखियो,’ ओलीले भने, ‘एमाले प्रतिवादमा आउन नपरोस् । आक्रमण गर्दा चुप लागेर बस्ने कुरा हुँदैन । यसबारेमा निर्वाचन आयोगले हेर्नुपर्ने भए पनि हेरेको छैन ।’
अध्यक्ष ओलीले चुनाव दुई चरणमा गर्दा सरकार र निर्वाचन आयोग कसैले पनि छलफल नगरेको बताउँदै ११ दिनको समय धेरै लामो हुने बताए ।
‘दुई चरणमा होइन, एकैचरणमा गरौं,’ उनले भने, ‘यसले परिणाममा असर पुर्याउँछ । पहिलो चुनावले दोस्रोलाई असर पर्छ । निर्वाचन मन्त्रिपरिषदले निर्णय गर्ने भन्दा पनि दलहरुको परामर्शमा निर्वाचन आयोगले गर्नुपर्छ ।’
उनले सरकारको विश्वसनीयता नभएको बताउँदै भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया