लमजुङमा रोटरीको क्षेत्रीय सम्मेलन गरिने

लमजुङमा रोटरीको क्षेत्रीय सम्मेलन गरिने


लमजुङस्थित रोटरी क्लबले सदरमुकाममा क्षेत्रीय सम्मेलन गर्ने भएको छ । क्लबले यही भाद्र १६ र १७ गते बेसीशहरस्थित गेटवे हिमालयन रिसोर्टमा विभिन्न जिल्लाका रोटरीमा आवद्ध एकसय भन्दा बढि प्रतिनिधिहरुको सहभागितामा दुईदिने क्षेत्रिय सम्मेलन गर्न लागेको हो ।

क्लबले आज पत्रकार भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ । दुई दिनसम्म हुने कार्यक्रममा सामाजिक उत्तरदायित्व, क्लबका रणनीतिका विषयमा मुख्य छलफल गर्ने रोटरी क्लव लमजुङका अध्यक्ष दिपक पौडेलले बताउनुभयो ।

क्लबको मुख्य प्रस्तावना बाहेक सम्मेलनको अवसरलाई सदुपयोग गर्दै जिल्लाको जलविद्युत, पर्यटन र व्यापार प्रवद्र्धनलाई पनि विशेष प्राथमिकतामा राखिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

‘सम्मेलनमा विभिन्न जिल्लाका उद्योगी, व्यापारी, सामाजिक अभियान्ताहरु एवं विभिन्न पेशा, सँस्थामा आवद्ध भएका उच्च वर्गका व्यक्तीहरुको सहभागिता हुनेछ’, अध्यक्ष पौडेलले भन्नुभयो ‘कार्यक्रममा व्यापार, पर्यटन र जलविद्युत लगानीका सम्भावनाहरुको बारेमा जानकारी गराउदै गर्दा नयाँ अवसर सृजना हुने विश्वास गरेका छौँ ।’

स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवा भन्ने मूल मन्त्र बनाएर १११ वर्ष पहिले स्थापना भएको समाजिक सस्ँथा रोटरी इन्टरनेशनल हो । १० लाख भन्दा बढि छिमेकी, साथी, नेतृत्वहरु समस्याको समाधान गर्ने व्यक्तीहरु जसले देश विदेश समूदाय तथा घर घरमा जिवन पर्यन्त सकरात्मक परिवर्तन ल्याउनमा सहयोग गर्ने विश्वव्यापी सञ्जाल रोटरी हो ।

सामाजिक अभियान्ताहरुको संयुक्त प्रयासमा सन २००६ मा लमजुङमा रोटरी क्लव स्थापना भएको थियो । स्थापनाकालदेखि नै अन्तराष्ट्रिय सञ्जालमा आवद्ध भई रोटरी क्लव लमजुङले जिल्लाका अन्य सरोकारवाला सँघसस्था वा निकायसँग सहकार्य गरी शिक्षा, स्वास्थ्य, प्रकोप व्यवस्थापन, खानेपानी तथा सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।