अर्घाखाँचीका स्थानीय तहको बजेट सवा दुई अर्ब

अर्घाखाँचीका स्थानीय तहको बजेट सवा दुई अर्ब


अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहले आर्थिक वर्ष ०७४/७५ का लागि दुई अर्ब २४ करोड ९२ लाख ५० हजार वार्षिक बजेट प्राप्त गरेका छन् । जसअनुसार सन्धिखर्क नगरपालिकाले चालिस करोड ७९ लाख ४ हजार, शितगंगा नगरपालिकाले एकाउन्न करोड, ५९ लाख २८ हजार र भूमिकास्थान नगरपालिकाले छत्तिस करोड ९२ लाख २९ हजार वार्षिक बजेट पएका छन् ।

यसैगरी पाणिनी गाउँपालिकाले तेत्तिस करोड ९८ लाख ७० हजार, मालारानी गाउँपालिकाले तेत्तिस करोड ७६ लाख १ हजार र छत्रदेव गाउँपालिकाले २८ करोड ५८ लाख २८ हजार बजेट पाउने भएका छन् । जिल्लाका सबै नगरपालिका र गाउँपालिकाले प्राप्त गरेको कूल बजेटको प्रथम किस्तावापत जम्मा ७४ करोड ९७ लाख ५९ हजार ९ सय ९६ रुपैयाँ गत साउन १ गते नै निकासा भइसकेको छ ।

स्थानीय तहले प्राप्त गरेको कुल बजेटबाट एक भाग प्रथम किस्तावापत निकासा भइसकेको भए पनि दोस्रो किस्ता मार्गमा र तेस्रो वा अन्तिम किस्ता चैत्रमा निकासा हुने कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका कोषनियन्त्रक कमलप्रसाद पन्थीले बताएका छन् ।

बजेट प्राप्त गरिसकेका नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिहरू अगामी कार्ययोजना निर्माणका लागि क्रियाशील देखिनुका साथै कामको यश (श्रेय) लिनका लागि सम्बद्ध सबै लागिपरेका छन् । माथि उल्लेखित केन्द्रिय बजेटको अलवा नगरपालिका र गाउँपालिकाबाट हुने विविध आन्तरिक आम्दानीबारे यकीन जानकारी हुन नसके पनि दुबै आम्दानीलाई निर्वाचित जनप्रतिनिधिहरूले कस्तो पारदर्शितामा के–कसरी र कति परिचालन गर्ने हुन्, चासोको विषय बनेको छ ।

– मुक्तिनाथ भुसाल