राजनीतिक प्रभावमा निर्वाचन क्षेत्र निर्धारण

राजनीतिक प्रभावमा निर्वाचन क्षेत्र निर्धारण


नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारण उपयुक्त नभएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेकपा एमालेले शान्तिपूर्णरुपमा आयोजना गरेका कार्यक्रममा प्रतिरोध गर्नु राजनीतिक संस्कारको अभाव भएको बताए ।

प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले राजनीतिक प्रभावमा परेर आयोगले काम गरेको आरोप लगाए । उनले भने, ‘जनसंख्या, भूगोल, सुविधा, मतदाता, सामथ्र्य, पहुँच, जातीय विविधिकरणलगायतका विषयमा ध्यान दिनुपर्नेमा धेरै ठाउँमा त्यस्तो हुनसकेन।’ धेरै कुरा नमिलेको बताउँदै उनले राजनीतिक प्रभावबाट मुक्त भएर क्षेत्र निर्धारण गर्नुपर्नेमा त्यस्तो नभएको बताए ।

‘लोकतन्त्रमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमको विरोध गर्नु भनेको लज्जास्पद् विषय हो’, उनले भने, ‘मधेशमा हामीले कस्तो राजनीतिक संस्कार विकास गर्यौं रु त्यो अहिले देखिएको छ ।’ मधेशमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै नेपालले भने, ‘पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो बन्यो, तेस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी बन्छ।’

तेस्रो चरणको निर्वाचनमा अन्य दलसँग तालमेल हुनसक्ने भन्दै नेता नेपालले स्थानीय आवश्यकताअनुसार तालमेलका विषयमा छलफल भइरहेको बताए । मधेसी जनताको हितमा रहेकाले नै संविधान संशोधन विधेयक पारित नभएको हो भन्दै उनले नेता उपेन्द्र यादवले पनि संविधान संशोधनको औचित्य नभएको बताएको स्मरण गराए ।

शान्ति प्रक्रियामा सघाउन हालै आफूले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै नेता नेपालले नेपालको कुटनीतिक सम्बन्ध रहेको त्यस मुलुकमा शान्ति कायम होस् भन्ने हाम्रो चाहना रहेको बताए । उनले भने, ‘राम्रो वातावरण सिर्जना गर्नका लागि भएको आफ्नो भ्रमणलाई आलोचना गर्नुको अर्थ छैन ।’