दुगड ग्रुपमाथि कारवाही चलाउने सिडियोको सरुवा

दुगड ग्रुपमाथि कारवाही चलाउने सिडियोको सरुवा


फ्रुटी सञ्चालक दुगड फरार

–रोशन कार्की

गुणस्तहिन पेयपदार्थ बिक्री वितरण गर्दै आएको दुगड सुमहमाथी कारबाही प्रकृया अधि बढाउने सहायक जिल्ला अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।  म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्दै बिक्री गर्दै आएको सोे उद्योगमा छापा मारी कारबाही अगाडी बढाएको थियो ।

उपभोक्ताको स्वास्थ्यलाई जोखिमबाट जोगाउन खोज्ने सहायक प्रजिअ प्रेमप्रसाद लुइँटेललाई उद्योगमा छापा मारेको चार दिनपछि अन्तरमन्त्रालय सरुवा गरिएको छ । म्याद नाघेको गुणस्तरहीन फ्रुटी बनाउँदै गरेको गोप्य सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा भदौ १२ गते सहायक प्रजिअ लुइँटेल सहितको टोलीले सतुंगलस्थित दुगड फुड एन्ड बेभरेज प्राइभेट लिमिटेडमा छापा मारेको थियो ।

                                                                              उद्योग सञ्चालक माल्चन दुगड

६ वर्षदेखि गृह मन्त्रालयका विभिन्न तहमा रहेर काम गर्दै आएका लुइँटेललाई फ्रुटी काण्डमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन नदिन ‘सुनियोजित’ रूपमा गृहबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सरुवा गरिएको छ ।  लुइँटेलले अनुसन्धान गरी कालोबजारी ऐन र मुलुकी ऐनको ठगी महलअन्तर्गत उक्त उद्योगका सञ्चालक माल्चन दुगडलाई नै अधिकतम कैद र बिगोबमोजिम जरिवाना गराउने तयारी गरेका थिए ।

फ्रुटी काण्डलाई प्रभावहीन बनाएर दोषी व्यवसायीलाई उन्मुक्ति दिन लुइँटेललाई जिम्मेवारीबाट हटाएर भदौ १६ मा स्थानीय विकासमा पठाइएको खुलेको छ ।  यसअघि पनि उपभोक्ता सम्बन्धी मुद्दामा व्यवसायीलाई उन्मुक्ति दिने नियतले व्यवसायी र राजनीतिकर्मीको मिलेमतोमा धारा तेलको मूल्य प्रकरणमा तत्कालीन प्रजिअ एकनारायण अर्याल र मिठाईमा जनावरको बोसो मिसावट प्रकरणमा तत्कालीन प्रजिअ लक्ष्मी ढकालको सरुवा गरेर मुद्दालाई प्रभावहीन बनाइएको थियो ।

सहायक सिडिओ बजार संरक्षक अधिकृत हुने व्यवस्था रहेको छ । सोही हैसियतमा सूचनाका आधारमा उद्योगमा छापा मारेर फ्रुटीमा प्रयोग हुने म्याद नाघेको म्यांगो पल्पको चार सय २६ वटा सिल प्याक ड्रमसहित करिब डेढ लाख तयारी फ्रुटीको पोका बरामद गरिएको थियो । छापा मारेकै दिन अनुगमन टोलीले उद्योग बन्द गराएको थियो । म्याद नाघेको कच्चा पदार्थलाई मन्द विष मानिन्छ ।

डेढ महिनाअघि म्याद नाघेको नेचुरल टोटापुरी म्यांगो पल्प छापा मार्ने क्रममा भेटिएको थियो । सन् २०१५ को जुलाईमा तयार भएको र दुई वर्ष म्याद भएको उक्त म्यांगो पल्पको प्रयोग गरी उद्योगले धमाधम फ्रुटी जुस तयार गरेर बजारमा पठाउँदै आएको थियो । लुइँटेलले पछिल्लो समय सुर्तीजन्य, मदिराजन्य, रात्रिकालीन क्लब, तथा मिसावटलगायत विकृति रोक्न विशेष अप्रेसन सुरु गर्न लागेका थिए । सोही अप्रेसन क्रममा दुगडको उद्योगमा उनको टोलीले छापा मारेको थियो ।

दुई वर्षअघि पनि सो उद्योगले गुणस्तहिन पेयपदार्थ बिक्री गरेको ठहर गर्दै कारबाही गरेको थियो ।  यसरी आफु कारबाहीबाट बच्न सो समुहले मोटो रकमको थैली समेत सम्बन्धित निकायमा पु¥याएको आरोप स्रोतको रहेको छ । सो थैलीलाई सहायक प्रजिअ लुइटेलले लिन नमानेपछि एकाएक गृहमन्त्रालयको दवावमा सामान्य मन्त्रालयले अन्तर विभागीय स्थानमा सरुवा गरिएको छ । सो मुद्दा नमिले सम्म दुगड लुकेर बसेका छन् ।

यो पनि पढ्नुहोस् :

किन परेनन् दुगड पक्राउ ? प्रहरीको सूचीमा अझै फरार !