पुनर्निर्माण नहुँदा महिला कैदीबन्दी समस्यामा

पुनर्निर्माण नहुँदा महिला कैदीबन्दी समस्यामा


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

भूकम्पले ध्वस्त भएको जिल्ला कारागार भवन पुनर्निर्माण नहुँदा सिन्धुपाल्चोकमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएको छ । छोटो समयका लागि जिल्ला प्रहरी कार्यालयमा पुरुष कैदीबन्दी राखिए पनि महिला राख्ने स्थान नहुँदा समस्या उत्पन्न भएको हो ।

ठाउँ अभावकै कारण दैनिकजसो कैदीबन्दीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ । भवन अभावकै कारण जिल्लाबाट रामेछाप, काभ्रेको धुलिखेल, मकवानपुरको भीमफेदी, काठमाडौ, पर्साको वीरगञ्जलगायतका कारागारमा स्थानान्तरण गर्दै आएको कारागारका सूचना अधिकारी टीका दाहालले बताए ।
‘पहिलेको कारागार भवनमा तीन सयभन्दा बढी कैदीबन्दी राख्ने गरिएको थियो,’ उनले भने, ‘भूकम्पले ध्वस्त बनाएको भवन पुनर्निर्माण हुन नसक्दा अहिले ठाउँको अभावले समस्या परिरहेको छ ।’ थोरै कैदीबन्दीलाई छोटो समयका लागि प्रहरी कार्यालयमा राखिने गरिए पनि सङ्ख्या बढ्नासाथ स्थानान्तरण गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

अहिले जस्ताको टहरामा कारागार कार्यालय सञ्चालनमा छ । १२ वैशाख ०७२ को भूकम्पले कारागार भवन जीर्ण बनाएको थियो । भवन वरिपरिको पर्खाल भत्किँदा दुई सय १६ कैदीबन्दी फरार भएका थिए । तीमध्ये केही सम्पर्कमा आएको प्रहरीको भनाइ छ । फरार भएकामा ११ जना चिनियाँ नागरिक र दुईजना भारतीय नागरिक छन् । तिनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी इन्स्पेक्टर विमलराज कँडेलले जानकारी दिए ।

(भूकम्पले ध्वस्त बनाएको पुनर्निर्माण गर्न बाँकी कारागार भवन)