यी शौचालय यसकारण बने समाचारको विषय

यी शौचालय यसकारण बने समाचारको विषय


– मुक्तिनाथ भुसाल

करिव तीन वर्षअघि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको भए पनि अर्घाखाँचीका कैयन गाउँवासी शौचालयको पहुँचमा पुग्न नसकेको पाइएको छ । विशेषगरी सार्वजनिक स्थानमा शौचालय निर्माण नगरिएको कारण गोरुसिङे–सन्धिखर्क सडकमा यात्रा गर्ने सर्वसाधारणले खुल्ला आकाशमुनि दिशापिसाब गरिदिन्छन् ।

दिनहुँ हजारभन्दा बढिको जमघट भइरहने महेन्द्र राजमार्गस्थित गोरुसिङे चोकमा आवश्यकता बोध भएर पनि सम्बन्धित निकायले हालसम्म सार्वजनिक सौचालय निर्माण गर्ने तदारुकता देखाएको छैन । गोरुसिङे चोकबाट अर्घाखाँचीको सदरमुकाम पुग्ने क्रममा शितगंगा नगरपालिकाको अमराई बजारमा निर्माण सम्पन्न गरिएको शौचालय प्रयोगमा नआउँदै नस्ट गरिएको छ । १० लाख २५ हजार ३ सय ७१ रुपैँया खर्च लगाएर निर्माण गरिएको शौचालय नस्ट तुल्याइनुको कारण पनि रोचक छ । नजिकका ठुल्ठूला रुखका हाँगा काट्ने बहानामा शौचालय ध्वस्त तुल्याइएको हो ।

शौचालयमाथिसम्म झ्याङ्गिएका रुखका हागाँबाट दुर्घटना निम्तिन सक्ने भन्दै जेसिभी लगाएर रुखका हागाँ कटाउने बहानामा शौचालय भत्काइएको र भत्काउनुअघि एकपटक पनि शौचालय प्रयोगमा नआएको स्थानीय व्यवसायी कुलराज पौडेलले जानकारी दिए ।

तत्कालीन उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा ०७१ मङ्सिर १३ गते अर्घाखाँचीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । जुन स्थानमा उपस्थित भई सिंहले सो घोषणा गरेका थिए, उक्त उद्घाटनस्थल (जिल्ला सदरमुकामको टुँडिखेल)मा निर्माण गरिएको सौचालय प्रयोगविहीन अवस्थामै रहेको छ । दिनहुँ अर्घाखाँचीका विभिन्न राजनीतिक दलका नेता र कर्मचारीहरूको दृष्टिमा रहने उक्त शौचालयलाई सरसफाई तथा रेखदेख नगरिएको कारण हाल सिङ्गै टुँडिखेल दुर्गन्धित बन्न पुगेको छ ।

अत्यन्त संवेदनशील स्थानमा निर्माण गरिएको टुँडिखेल शौचालयको सरसफाईमा ध्यान नदिने हो भने त्यसले विभिन्न रोगका महामारी नै निम्त्याउन सक्ने आशङ्काले स्थानीय भयभित बन्न पुगेका छन् । आशङ्काअनुरुप शौचालयकै कारण रोग उत्पन्न भएमा टुँडिखेलआसपास रहेका जिल्ला समन्वय समिति, हुलाक, प्राविधिक, कृषि र सन्धिखर्क नगरपालिका लगायत कार्यालयका कर्मचारी एवम् जनप्रतिनिधिहरू नै त्यसको चपेटामा पर्ने भन्दै स्थानीयवासीबीच चर्चा चल्ने गरेको छ ।