सामुहिक बलात्कारबाट महिला बितेपछि…

सामुहिक बलात्कारबाट महिला बितेपछि…


बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक साताअघि मकैबारीमा मृत अवस्थामा एक महिला फेला परिन् । जाँचबुझ गरेपछि ती महिला बनेपा–१० बस्ने ५७ वर्षीया नानु आलेमगर भएको पत्ता लाग्यो । दुःखद पक्षचाहिँ के थियो भने उनको मृत्यु सामूहिक बलात्कारका कारण भएको थियो ।

आखिर महिलाको मृत्यु नै हुने गरी भएको सामुहिक बलात्कारमा सहभागी अभियुक्त को–को थिए त ? प्रहरीका लागि एक प्रकारको चुनौती नै आइपरेको थियो । अभियुक्त पहिचान गरी पक्राउ गर्ने सफलता अन्ततः प्रहरीलाई मिलेको छ । सो घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

विभिन्न स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बनेपाले आयोजना गरेको पत्रकारसम्मेलनमा बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिइयो ।

अर्धनग्न अवस्थामा फेला परेको शव देखेर आफन्तले मृतकको पहिचान गरेका थिए । विगतमा पनि बेला–बेला खबर नगरी घरबाहिरै रहने गरेकोले परिवारले प्रहरीमा उजुरी नगरी बसेको थियो । तर मृत अवस्थामा महिला फेला परेको हल्ला फैलिएपछि हेर्दा आफ्नो परिवारको सदस्य रहेको पाएपछि मृतकक महिलाका परिजन स्तब्ध भएका थिए ।

प्रहरी उपरीक्षक सहकुल थापाले भने, ‘विस्तृत अनुसन्धान जारी नै छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरूलाई पनि ल्याउँछौँ ।’ बनेपामा जडान गरिएको सिसी टिभी क्यामेरा फुटेजको सहयोगमा अभियुक्तहरूको खोजी गरी नियन्त्रणमा लिइएको उनले बताए ।

बलात्कारमा संलग्न भई प्रहरीको नियन्त्रणमा पर्नेहरूमा रिक्सा चलाउने र प्लम्बरको काम गर्ने भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान रहेका छन् । उनीहरूले प्रहरीसामु आफूहरू बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।