प्रदेश नम्बर-२ मा निर्वाचन आयोग आक्रामक !

प्रदेश नम्बर-२ मा निर्वाचन आयोग आक्रामक !


२ नम्बर प्रदेश निर्वाचन आयोग आक्रामकबन्ने भएको छ । आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा दल तथा तीनका कार्यकर्ताले आचारसंहिता विपरितका कार्य गरेको भन्दै निर्वाचन आयोगले आफ्नो कडाईलाई आक्रामक बनाउने तयारी गरेको हो ।

बुधबार उम्मेद्वारी मनोनयनका क्रममा बालवालिकालाई जुलुसमा हिँडाइएको, कतिपय स्थानमा भोज–भतेर गरिएको, सवारी साधनको व्यापक प्रयोग गरिएको जस्ता गुनासा आएपछि आयोग असन्तुष्ट बनेको छ ।

आयोगका प्रवत्ता नवराज ढकालले आचारसंहिता विपरितका गतिविधि बढेको भन्दै यहि अबस्था रहे कडाइपूर्वक अघि बढ्ने बताए ।

दल तथा उम्मेद्वारलाई आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराउँदै उहाँले नत्र कडा कदम चाल्न आयोग बाध्य हुने बताए । उनले आचारसंहिता अनुगमनका लागि निगरानी सुरु गरिएको समेत जानकारी दिए ।

अनुमनका लागि २ सचिव र १४ सहसचिवलाई ८ वटा जिल्लामा खटाएको प्रवक्ता ढकालले बताए । यस्तै सुक्ष्म अनुगमनका लागि पनि जिल्ला जिल्लामा टोली परिचालन गरिएको छ ।

अनुगमनका क्रममा आचारसंहिता विपरितका गतिविधि गरेको भेटिए तत्काल कारबाही गर्ने, उम्मेद्वारी नै रद्धसम्म हुने प्रवत्ता ढकालले बताए ।

आयोगले निर्वाचनका लागी जारी गरेको निर्वाचन आचारसंहिता भित्रै रहेर प्रचारप्रसार तथा निर्वाचन गतिविधि गर्न सबै राजनैतीक दल तथा स्वतन्त्र उम्मेद्वारको ध्यानाकर्षण गराएको छ ।

यसैबिच आचारसंहिता विपरित बालबालिकाको प्रयोग गर्ने दललाई अयोगले तत्काल स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ ।

२६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता 

प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान सम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार हालसम्म प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच हजार ८८५ उम्मेदवारी परेको छ ।

त्यस्तै, महिला सदस्यमा चार हजार ८८६, खुल्ला सदस्यमा नौ हजार ५८२ र दलित सदस्यमा तीन हजार ८७३ उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउनेक्रम जारी रहेकाले उम्मेदवारको संख्या अझै बढ्ने छ ।

प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २३० उम्मेदवारी परेको छ भने कममा १४६ रौतहटमा परेको विवरण प्राप्त भएको छ । आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराउनुभएको थियो ।

उक्त मितिमा निर्वाचन हुने १३६ स्थानीय तहमध्ये आयोगमा १३४ को उम्मेदवारी विवरण आएको छ भने सिरहा नगरपालिका र सोही जिल्लाको धनगढीमाई नगरपालिकाको विवरण भने अझै आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।