डा. राणाको उडान सार्वजनिक

डा. राणाको उडान सार्वजनिक


गजल स्रष्टा डा. कृष्णजंग राणाको नवीनतम् कृति हिन्दी भाषाको गजल संग्रह ‘उडान’को शुक्रबार एक समारोहका बीच सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, वरिष्ठ चलचित्र निर्देशक एवम् संस्कृतिविद् चेतन कार्की, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, त्रिवि हिन्दी विभागकी प्रमुख डा. सन्जीता बर्माले संयुक्त रुपमा उक्त गजल संग्रहको विमोचन गरेका थिए ।
कार्यक्रमा ८४ वर्षीय गजलकार एवम् चिकित्सक राणाले आफ्ना भावनाहरुलाई काव्य भावनामा पोख्दै आएको बताए । उनले आफ्ना केही गजल वाचन पनि गरे ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले डा. राणाको गजलकारिताकालाई लिएर चर्चा गरेका थिए ।

गजल स्रष्टा ज्ञानुवाकर पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा त्रिवि हिन्दी विभागका प्रमुख डा. सन्जीता बर्मा, स्रष्टा चेतन कार्की, बूँद राना, इम्तियाज वफालगायतले डा. राणाको गजलकारिताका विषयमा आफ्ना धारणा राखेका थिए ।

आफ्नो १८औं कृतिका रुपमा उडान सार्वजनिक गरेका डा. राणाले कविता, गीत र गजलका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

महफिल –ए –काव्यउपासनाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आयोजकका तर्फबाट गजल स्रष्टा डा. सनतकुमार वस्तीले सबैलाई धन्यवाद दिएका थिए । उनले काव्यउपासनाको २० वटा शृँखला सम्पन्न भइसकेको पनि जानकारी गराए ।