ठाडो भाकाका एक्ला गायक भेडीखर्के साइँला रहेनन्

ठाडो भाकाका एक्ला गायक भेडीखर्के साइँला रहेनन्


छविलाल बगाले

बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य ब्यक्ति ‘भेडीखर्के साइँला’ (दीर्घराज अधिकारी)को दुख्द निधन भएको छ । लामो समयसम्म दमले ग्रसित भेडीखर्केको ८४ वर्षको उमेरमा निधन भएको हो ।

ठाडोभाका सम्राट÷शिरोमणी भेडीखर्के साइँला एक महिनायता बिरामी परेका थिए । सोमाबार साँझ सवा ५ बजेतिर उनको निधन भएको हो । स्वर्गीय भेडीखर्के मध्यसाउनदेखि बिरामी परेका थिए । घरायसी आर्थिक समस्याले राम्रो उपचार पाउन नसकेका भेडीखर्केले न राज्यबाट केही पाए न कलाकारिता क्षेत्रबाट नै ।

भेडीखर्केका एक छोरा र तीन छोरी छन् । लमजुङको तत्कालिन सिन्दुरे गाविस वडा नम्बर ७, तुर्लङकोटमा वि.सं. १९९० भदौ ३१ गते बाबु बलभद्र अधिकारी र आमा नन्दकुमारीको कोखबाट जन्मिएका भेडीखर्केले १२ बर्षको उमेरदेखि ८४ बर्षको उमेरसम्म ठाडो भाका गाउँदै आएका थिए । उनका दर्जन बढी गीतहरु रेकर्ड भएका छन् ।

पहिले देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले यस भाका प्रचलनमा ल्याएपनि देश विदेश फैलाउने काम भेडीखर्के साइँलाले गरेका थिए । २० बर्षअघिसम्म भक्तिमाया दुरासंग विभिन्न कार्यक्रममा ठाडो भाकामा रातदिन छर्लंगै हुने गरि गाउने उनले सवै सहयात्रीलाई गुमाएपछि पछिल्लो समय बन्दीपुरकी उत्तम गुरुङसंग ठाडोभाका गीत गाउँदै आएका थिए ।